काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नं.६ को चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बन्दरगाहान एउटा गोदाममात्र निर्माण गर्न बाँकी रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रमुख कार्यकारी अधिकृत (सीईओ)आशिष गजुरेल जानकारी दिए । ‘साता÷१० दिनमा निर्माण कार्य सकिन्छ,’उनले भने
‘त्यसपपछि हामी उद्घाटन गछौं ।’ विश्व बैंकको ऋण सहयोगमा नेपाल इन्टरमोडल यातायात विकास समितिले यो बन्दरगाह निर्माण गरेको हो ।
बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने उद्देश्य सहित बन्दरगाह निर्माण कार्य शुरु गरिएको हो । देशभित्र र बाहिर सामान आयात र निर्यात गर्नका लागि छुट्टाछुटै टर्मिनलको व्यवस्था बन्दरगाहमा छ । यहाँ आन्तरिक र बाह्य टर्मिनल हुनेछन् । आन्तरिक टर्मिनलबाट देशभरबाट काठमाडौं उपत्यका सामाज आउने छन् र ती सामानलाई बाहिरी मुलुकमा पठाइने छ । यहाँ नै मालसमान लोड अनलोड र भण्डारण समेत गर्न मिल्ने छ ।
बाह्य टर्मिनलमा भने भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामानलाई नेपालका सीमाक्षेत्रका भैरहवा, वीरगन्ज तथा रसुवागढी नाकाबाट सोझै चोभारमा ल्याइनेछ । जसको कारणले नाकामा कन्टेनर खोलेर फेरि लोड–अनलोड गर्ने झन्झटको साथै त्यसबापत लाग्ने आर्थिक भारमा समेत कमी आउने समितिले जनाएको छ ।
बन्दगाह निर्माण कार्य सम्पन्न भएपनि अपरेशनमा आउन भने अझ केही समय लाग्ने सीईओ गजुरेलले बताए । यससँग सम्बन्धित कार्यालय त्यहाँ आउनु पर्ने भएकोले अपरेशनमा आउन भने केही समय लाग्ने देखिएको हो ।
यो बन्दगाह निर्माण सम्पन्न भएपछि सामान आयात–निर्यातमा सहज हुने सीईओ उनले बताए । कोलकात्ता, विशाखापटनम र चीनको केरुङ र सिगात्सेबाट राजधानीका लागि ल्याइने सामान सोझै चोभारमा ल्याएर भण्डारण गर्न सकिनेछ ।
विभिन्न देशबाट नेपाल आएका कन्टेनर सिधै यहाँ आएर जाँचपास गर्न सकिने व्यवस्था गर्न लागिएको हो । सीमा नाकामा भन्सार जाँचपास नगरी सिधै यो बन्दरगाहमा आएर जाँचपासको प्रक्रिय शुरु हुन्छ । यसका लागि सीमा नाकामा प्रवेश गरेपछि कन्टेनरमा सरकारले विशेष ‘ताल्चा’ लगाउनेछ ।
साविक हिमाल सिमेन्टको ८ सय १६ रोपनी जग्गामध्ये करिब २ सय रोपनी जग्गामा सुक्खा बन्दरगाह निर्माण भएको छ । उक्त स्थानमा अन्तर्राष्ट्रिय प्रर्दशनी स्थल बनाउने कार्ययोजना पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको छ । बन्दरगाह निर्माण पछि प्रदर्शनी स्थल निर्माण कार्य पनि अघि बढ्ने भएको छ ।
यो बन्दरगाह तयार भएपछि सीमा नाकाका हुँदै आएको भन्सार जाँचपास सम्बन्धी सम्पूर्ण काम काठमाडौं मै शुरु हुनेछ । बन्दरगाहमै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका अत्याधुनिक कार्यालय रहनेछन् । बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह निर्माण गरिएको हो ।
अहिले भन्सार जाँचपासको काम सीमा नाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन् । नेपालबाट निर्यात हुने सामानको जाँचपास पनि यही बन्दरगाहबाट हुनेछ । यो बन्दरगाह निर्माणपछि सामान आयात–निर्यात गर्न लाग्ने लागत र समय घट्नेछ ।
निषेधाज्ञामा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड र सावधानी अपनाएर बन्दगाह निर्माण कार्य धमाधम भइरहेको उनले बताए । म आफै फिल्डमा खटिएर हरेक मजदुरलाई काम गर्न प्रोत्साहन गरिरहेको छु,’ उनले भने ‘कोरोना कारण खासै ठूलो समस्या आउन दिएका छैनौ ।’
यो बन्दरगाहको योजना २०१० मै तयार भएको थियो । निर्माणको काम २०१८ अगस्टदेखि सुरु भएका हो । विश्व बैंकले १ अर्ब ५७ करोड रुपैयाँ ऋण सहयोगमा आयोजना निर्माण कार्य शुरु गरिएको थियो । आयोजन सम्पन्नसम्म हुँदा यो लागत बढेर १ अर्ब ७० करोड पुग्ने देखिएको छ । यो बन्दरगाह निर्माणको ठेक्का आशिष–साक्षी जेभीले १ अर्ब ४४ करोडमा जिम्मा पाएको हो ।
काठमाडौं उपत्यकामा बनाउने भनिएको बाहिरी चक्रपथ पनि ड्राइ पोर्ट बन्दै गरेको स्थानसँग जोडिने नक्साङ्कन भएको छ । यो अलाइन्मेन्ट भने परिवर्तन पनि हुन सक्ने देखिएको छ । त्यसैगरी काठमाडौं–निजगढ जोड्ने द्रुतमार्ग पनि यसको नजिकै पर्ने र बन्दरगाहमा लिंक गर्ने योजना सरकारको छ । चीन र भारतबाट आउने रेललाई पनि यो पोर्टसँग जोड्ने सरकारको योजना छ । त्यसैले यो बन्दरगाह निर्माणपछि चोभार काठमाडौंको महत्वपूर्ण हब बन्ने विश्वास गरिएको छ ।