काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्र सेवक कर्मचारीको बढेको तलव स्वीकृत भएको जानकारी दिए ।
बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको हो ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत राष्ट्रसेवक कर्मचारीको तलब २ हजारले वृद्धि गरेको छ । कर्मचारीका लागि महँगी भत्ता सरकारले यथावत राखेको छ ।
त्यसैगरी बजेटले राष्ट्र सेवक कर्मचारीको मनोवल बढाइ सार्वजनिक सेवालाई प्रभावकारी बनाउन कर्मचारीको १० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा र १ लाख स्वास्थ बीमाको प्रिमियत वापतको रकम सरकारले भुक्तान गर्ने उल्ले गरेको छ ।