उपत्यका वरिपरिका डाँडासहित हिमाल र पहाड हिमपात, बिहीबारदेखि मौसममा सुधार हुने (फोटो)

काठमाडौं । वर्षासँगै बुधबार बिहानैदेखि चन्द्रागिरमा हिमपात सुरु भएको हो । पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको छ । चन्द्रागिरीसहित उपत्यका अग्ला डाँडाहरू, चम्पादेवी, शिवपुरी फूलचोकीमा समेत हिमपात भएको हो ।

उपत्यका वरिपरिका यी डाँडाहरूमा पहिलो पटक हिमपात भएको हो । यी डाँडाहरूमा हिउँ बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिर क्षेत्र सेताम्य छ ।

आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमताप भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

बिहीबारदेखि क्रमिक सुधार

पश्चिमी न्यून चापीय प्रणाली नेपालको पश्चिम क्षेत्रबाट सोमबार (पुस १२ गते) प्रवेश गरेको थियो । यो प्रणालीको प्रभाव मध्य क्षेत्र हुँदै क्रमशः देशको पूर्वी भूभागसम्म फैलिएको छ । यसैको कारण अहिले देशभर बादल लागेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागहरूमा हल्का वर्षासँगै हिमपात भइरहेको छ ।

यस्तो अवस्था बिहीबारबाट क्रमशः कम हुँदै जाने अनुमान मौसमविदले गरेका छन् । ‘मौसमविद नगरकोटीले आजको जस्तै अवस्था भोलि पनि रहने बताउँदै भनिन्, ‘पर्सिबाट भने मौसममा क्रमशः सुधार आउने देखिन्छ ।’

अर्का मौसमविद पौडेलले पश्चिम नेपालमा बिहीबारबाट मौसममा सुधार हुने र शुक्रबारबाट अन्य प्रदेशहरुमा पनि क्रमिक रुपमा सुधार हुने बताए ।

‘सुदूरपश्चिम क्षेत्रबाट मौसम खुल्दै जान्छ । बुधबारको भन्दा बिहीबार धेरै नै सुधार हुन्छ,’ मौसमविद पौडेलले भने, ‘शुक्रबारबाट त झन धेरै सुधार हुन्छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स