उपचार खर्च तिर्न नसक्दा अस्पतालमा चार दिनदेखि बन्धक

धनुषा । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्हारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको छ ।

जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन् । ब्यथा लागेपछि यही असार १७ गते खातुन अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि बन्धक बनेकी छन् ।

अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको छ । खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न सकेको छैनन् । लकडाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पतालमा चार दिनदेखि घेरिएको नदाफले बताए ।

दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका नदाफको न आफ्नो घर छ, न त काम । उपचार खर्च तिर्न नसक्दा आफ्ना श्रीमती र नवजात शिशु घर ल्याउनका लागि भनी चारपाँच दिनदेखि गाउँमा चारैतिर चन्दा सङ्कलन गरिरहेको उनले बताए ।

उनले भने, सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागें, अहिले रु ५० हजार जति सङ्कलन भयो तर अझ रु ६० हजार बाँकी छ ।

उता अस्पताललाई तिर्नुपर्ने बिल बढेकोबढ्यै छ । यता नदाफ भने पैसाको खोजीमा गाउँमा भौँतारिइरहेको छ । प्रतिघर रु २० देखि ५०० सम्म सहयोग प्राप्त भएको उनले बताए । यसरी कहिलेसम्म उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो, पत्तो छैन, मलिन अनुहारमा उनले दुखेसो पोखे ।

शल्यक्रिया र औषधिका लागि ऋण खोजेर उनले करीब करीब रु ५० हजार उपचारमा रितिसक्यो । समीरले कुनै मनकारी मनले उपचार खर्चका लागि सहयोग गर्न चाहे ९८१८०२६४४० मा सम्पर्क गर्न आग्रह गरे । बच्चा र आमाको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक छ । तर उपचार खर्च चाँडो जुटाउन नसके गाह्रो हुनसक्ने उनको दुःखेसो छ ।

अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ । अस्पताल प्रशासनका अनुसार दुवै बच्चालाई आइसियुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो । अस्पतालले गर्नसक्ने जति सक्दो छुट गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स