वागमती गाउँपालिकामा भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको आयोजनामा वागमती गाउँपालिकाको गाँउकार्यपालिकाको सभाहल झुरझुरेमा वागमती गाउँपालिकाका निर्वाचित जन प्रतिनिधिहरू र गाउँपालिका भित्र कार्यरत कर्मचारीहरूको सहभागितामा भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वागमती गाउँपालिकाका अध्यक्ष शार्केश घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख अर्जुनकुमार शर्माले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय, हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार न्यूनिकरण एवम् सुशासन प्रवर्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे जानकारी गराएका थिए ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको राज्यको नीति अनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको जानकारी गराउनु हुँदै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके मात्र समग्र शासन प्रणाली संस्थागत हुने कुरा उल्लेख गरे ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव विष्णु प्र।सापकोटाले स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा प्रमुख अतिथि वागमती गाउँपालिकाका अध्यक्ष घलानले अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधिहरूको क्षमता विकास गर्न र स्थानीय तहमा सुशासन प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे । वागमती गाउँपालिका वडा नं २ का वडा अध्यक्ष जगत भोलनले आफ्नो मन्तव्य राख्दै अन्तरक्रिया कार्यक्रम सुशासन प्रवर्धनको विषयमा जनप्रतिनिधिहरूको क्षमता विकासमा निकै उपयोगी भएको बताए। वागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार श्रेष्ठले भ्रष्टाचार नियन्त्रणमा सबै क्षेत्रको सार्थक सहकार्य र समन्वय हुनु पर्ने बताउँदै वागमती गाउँपालिकालाई भ्रष्टाचार मुक्त र सदाचार युक्त बनाउने अभियानमा आफूहरू लागि परेको बताए ।

सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरे । अन्तरक्रियाका कार्यक्रमको खुल्ला सत्रमा उठेका प्रश्नको जबाफ दिँदै कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका यस कार्यालयका कार्यालय प्रमुख अर्जुनकुमार शर्माले कार्यक्रमको समापन गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स