राजनैतिक क्षेत्रले व्यूरोक्रेट्सलाई अझै पूर्ण रुपमा विश्वास नगरेको भन्दै ३३ वर्ष सेवा गरेर विदा भए राजस्व सचिव पुडासैनी

काठमाडौं । राजस्व सचिव रामशरण पुडासैनीले राजनैतिक क्षेत्रले व्यूरोक्रेट्सलाई अझै पूर्ण रुपमा विश्वास नगरेको बताएका छन् । ३३ वर्ष निजामति कर्मचारीका रुपमा सेवा गरेर आज शुक्रबार अर्थ मन्त्रालयबाट विदा भएका पुडासैनीले यस्तो टिप्पणी गरेका हुन् ।

राजनीतिक र प्रशासनिक क्षेत्र एक अर्काको परिपूरक रहेको भन्दै उनले प्रशासनिक क्षेत्रको जनशक्तिले आफूलाई लोकसेवाबाट आएको भनेर घमण्ड प्रस्तुत गर्न नहुनेमा जोड दिए । सचिव पुडासैनीले भने ‘हामी राज्यबाट केही लिन आएको हैन, राज्यलाई केही दिन आएको हो । जनता र राष्ट्रको सेवा गर्नु हाम्रो धर्म हो । घमण्ड गर्नु हुँदैन ।’ तीन दशकभन्दा लामो समय निजामति सेवामा विताउँदाको अनुभव सुनाउदै उनले नेपालमा राजनैतिक क्षेत्रले व्यूरोक्रेट्सलाई अझै पूर्ण रुपमा विश्वास गर्न सकेन ।’

वि.सं. २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते आइतवारदेखि सेवानिवृत्त हुँदै छन् ।

विदाइमा राजस्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमूखी अर्थतन्त्रमा बदल्ने’ भिजन महत्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजस्व संकलनमा समेत सुधार आउने तर्क गरे ।
विदाइ समारोहका अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लागेका राजस्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए ।

सोही अवसरमा जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित राजस्व सचिव रामशरण पुडासैनीको विदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्म बमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन् । ‘राजस्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो,’ उनले भने ‘यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ ।’

मन्त्री शर्माले राज्यका हरेक नीतिहरू निरन्तर सुधारको प्रक्रियामा रहेको भएतापनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताए । निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सक्दैन,’ मन्त्री शर्माले थपे । मैले गुणात्मक सुधारको लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन ।  गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो ।’

विदाइ समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले सेवा निवृत्त हुन लाग्नु भएका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विना कुनै दाग विदाइ हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गरे । उनले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममूखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति अर्थ मन्त्रालयका अध्यक्ष वामदेव पन्थीलगायत विभिन्न विभाग तथा समितिको तर्फबाट सचिव पुडासैनीलाई मायाको चिनो र दोसल्लासहित विदाइ गरिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स