कांग्रेस महाधिवेशन : ‘पहिलोचरणमै सभापतिमा जित्ने दाबी’

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन्।

आज यहाँ मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने बताए । सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिले आफूले जित्ने प्रवल सम्भावना रहेको दाबी गर्दै १३औं महाधिवेशनमा सभापतिको लागि अरुलाई मतदान गरेपनि यस पटक सभापतिमा आफैले आफूलाई मतदान गर्न पाएकोमा उत्साह व्यक्त गरे । उनले भने, ‘१३औं महाधिवेशनमा अरुलाई नै मतदान गरेर छानेको थिए, यस पटक आफैलाई छानेको छु, त्यसैले उत्साही छु ।’ सभापतिका उम्मेदवार निधिले आफूले पार्टी सभापतिमा जितेको खण्डमा देश र जनताको अधिकार, लोकतन्त्र र आर्थिक सम्वृद्धिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले मतदान प्रक्रियामा क्लस्टर अनुसार मतपत्र भएकोले मतदान गर्न सजिलो भएको प्रतिक्रियासमेत दिए ।

अहिले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि भृकृटीमण्डमा मतदान जारी छ । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण ढिला सुुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फूलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

भृकुटीमण्डमा जारी मतदानपछि पत्रकारसँग कुरा गर्दै उपसभातिका उम्मेदवार विजयकुमार गच्छदारले पार्टी सभापतिमा पहिलो चरणमै प्रधानमन्त्री शेरबहादुर देउवाले सभापति जित्ने दाबी गरे । उनले मतदान ढिलो गरी सुरु भए पनि निर्वाचन समितिले छोटो समयमा प्रभावकारी व्यवस्थापन गरेको र आज रातिसम्ममा मतदान गरेर सकिने जानकारी दिए । गृहमन्त्री तथा केन्द्रिय सदस्यका उम्मेदवार बालकृष्ण खाँडले प्रधानमन्त्री देउवाले पहिलो चरणमै पार्टी सभापतिमा जित्ने जिकिर गरे ।

उनले भने,‘सभापतिमा उनले जित्ने धेरै आधार छन् । पहिलो प्यानल बलियो छ र दोस्रो नेता कृष्णप्रसाद सिटौलाको समूह उहाँसँगै छ ।’ उनले पार्टीलई एक ढिक्का बनाउँदै राष्ट्रिय सहमतिका साथ सबै दललाई मिलाएर आम निर्वाचनमा लैजाने क्षमता सभापति देउवासँग मात्रै भएकोसमेत बताए । निर्वाचनसम्म यही गठबन्धन रहिरहने उनको भनाइ छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स