काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मनोनयन दर्ताबाट ५९ लाख ९५ हजार उठेको छ । उम्मेदवारी शुल्क सो रकम उठेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
सभापतिमा ६ जनाको ३० हजारका दरले १ लाख ८० हजार, उपसभापतिमा ७ जनाको २५ हजारको दरले एक लाख ७५ हजार, महामन्त्रीमा ६ जनाको २५ हजारका दरले एक लाख २५ हजार उठेको हो ।
सहमहामन्त्रीमा २० हजारका दरले ४ लाख र केन्द्रीय सदस्यमा पाँच सय ९ जनाको १० हजारका दरले ५० लाख ९० हजार गरि ५९ लाख ९५ हजार शुल्क उठेको हो ।
शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ ।
सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ ।
दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।
दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. राजाराम कार्की, प्रदीप पौडेल र डा. प्रकाशशरण महत रहेका छन् । सोमबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।