हामीले मानी आएको मूल्य मान्यता र आदर्शका आधारमा अरुप्रति धारणा निर्माण हुन्छ । त्यही धारणा कै आधारमा अक्सर हामी अरुलाई जाँच्ने गछौं । फलानोको बानी यस्तो छ, फलानोको व्यहोरा यस्तो छ, फलानोको ढंग यस्तो छ ।
हाम्रो अर्को व्यक्ति संग भेट भयो कि हामी अक्सर गुनासो गछौं, ‘फलानोले यसो गर्यो, ढिस्कानाले उसो गर्यो’ अर्काको व्यवहार र विचारबाट हामी कहिले खुसी त कहिले दुःखी भइरहेका हुन्छौं । अहिले सामान्यतय दुई व्यक्तिको भेटमा आफ्नो कुरा भन्दा ज्यादा तेस्रो व्यक्तिको (त्यो पनि राम्रो पक्षलाई हेर्न छाडेर नराम्रो पक्षको) कुरा हुने गर्दछ । ए त्यो रामेले त यस्तो गरेछ, कमाउन चाहिँ निकै कमायो तर राम्रो काम गरेर चाहिँ हैन है । अनि त्यो श्यामे त खत्तमै भएछ नि, नृत्य त अचाक्ली राम्रो गर्छ आवाज पनि क्या सुरिलो छ, गाना पनि निकै मिठो पो गाउँछ ।
तर के गर्नु, रक्सि पिउने बानी छ । यस्तै यस्तै अरुको आनीबानी, प्रवृत्ति सबै केलाउँछौं । साथसाथै फलानो कस्तो हुनु पथ्र्यो, फलानोले कस्तो व्यवहार गर्नु पथ्र्यो, कसरी लगाउनु पथ्र्यो कसरी खानु पथ्र्यो । यी यावत बिषयमा हामी गन्थन गरेर समय बिताउदछौं । तर अरुको हरेक आनीबानिको सुक्ष्म रुप ले चियो चर्चा गर्ने हामी स्वयम् आफ्नो मूल्यांकन भने गर्न चुक्दछौं । अर्थात् म कस्तो छु ? म कस्तो देखिन्छु ? मेरो व्यवहार कस्तो छ ? मेरो ढंग कस्तो छ ? मेरो बोलिबचन तथा व्यवहारले अरुलाई कस्तो असर पारिरहेको छ ? आदि कुराको हामीलाई ख्याल नै हुँदैन या हामी हेर्न नै चाहदैनौं ।
मनोविज्ञानले के भन्छ भने वास्तवमा हामी अरुलाई त्यही कारण होच्याउने, ओच्याउने गर्दछौं कि आफ्नो कमजोरी ढाकछोप गरियोस् । त्यसो नहुँदो हो त हामी साथीभाईसँग अरुको कमि कमजोरीको कुरा काट्नु भन्दा पहिले शायद, भन्ने थियौं होला, ‘म यस्तो छु, मेरो यस्तो यस्तो खराब बानी छ, मैले यस्तो यस्तो खाल का गल्ती गरेको छु, अब मैले आफुमा सुधार गर्नुपर्ने कुरा यी यी हुन्न’ तर जतिसक्दो हामी आफुलाई पूर्णतया दोषमुक्त र असल देखाउने चेष्टा गर्दछौं ।
धेरैजसो हामी अरुबाट बढी अपेक्षा राख्छौं। अरुलाई आफु अनुकुल बनाउने प्रयास गर्छौं। अरुले के गर्छ, के भन्छ, के सोच्छ, त्यसमा सरोकार राख्छौं । हो, यही कुराले हामीलाई दुःखी तुल्याउँछ। निरास तुल्याउँछ। किनभने संसारमा कुनैपनि व्यक्ति हामीले सोचेजस्तो हुन सक्दैन।
हामी आफुलाई जसरी सोच्छौं, उसले पनि त उसको जीवनलाई त्यसैगरी सोचीरहेको हुन्छ । उसको निम्ती हामी अनुकुल हुन सक्दैनौ भने अरुबाट हामीले किन त्यस्तो अपेक्षा राख्ने ? अब हामी आफैलाई बदलेर हेरौं । सबै कुरा राम्रो देखिनेछ । सबै राम्रो लाग्ने छ । हामी के कुरामा जोड दिन्छौं भने, मेरो सबै समस्याहरु सल्टाउन पाइयोस् । मेरो समस्या सबैले बुझे हुन्थ्यो । मेरो समस्या समाधानका लागि सबैले सहयोग गरे हुन्थ्यो ।
हाम्रो नराम्रो बानी भनेको, अरुलाई दोष दिने हो । आफ्नो काम ठिक ढंगले सम्पन्न भएन, आफूले सोचेजस्तो सबैकुरा ठिक ठाक भएन भने हामी अरुलाई दोष दिन्छौं । अरुप्रति नकारात्मक धारणा बनाउँछौं तर, हामी आफ्नो लागि हामी आफै दोषी हुन्छौं ।
संसारका सबै मानिसको व्यवहार, बुझाई, हेराई एकनास हुँदैन । मैले जुन कुरालाई राम्रो देखें, त्यो कुरालाई उसले पनि त्यही दृष्टिले हेर्नुपर्छ भन्ने छैन । मैले कुनैपनि कुरालाई जसरी बुझें, त्यो कुरालाई उसले पनि त्यसरी नै बुझ्नुपर्छ भन्ने छैन । तर, हामी के चाहन्छौं भने, मैले जे देखें, जसरी बुझें त्यही अनुरुप अरुले पनि बुझ्नुपर्छ । यो गलत धारणा हो । मानिसको सोंच, सोच्ने तह, धरातल अलग हुन्छ । हामीले त्यसलाई बदल्न सक्दैनौं ।
आफूलाई बदल्ने एउटै कडी भनेको आफु सकारात्मक रहने हो । सबैप्रति समान दृष्टिकोण र धारणा राख्ने हो ।
संसारमा कोही पनि कहिले पनि पूर्ण हुन सक्दैन तर, अपूर्ण हुँदैमा निरास हुनुपर्ने केही छैन । अपूर्ण हुँदैमा सबै कुरा तहसनहस हुने पनि होइन । जे, जति उपलब्ध छ, त्यसैमा रमाउनुपर्छ । जे छ, त्यसमै सन्तुष्ट गर्नुपर्छ। सबै कुराप्रति सकारात्मक दृष्टि र सोंच राख्नुपर्छ । यसले हामीलाई कहिल्यै दुखी हुन दिनेछैन ।
अरुलाई बदल्न जति असहज वा असंभव हुन्छ, आफुलाई बदल्न उत्तिनै सहज हुन्छ। अरु राम्रो भएमा संसार राम्रो देखिने होइन। आफु राम्रो भएपछि संसार राम्रो देखिने हो। अर्थात बस्तुलाई आफ्नो रुची अनुरुपको रंगमा बदल्ने होइन, बरु आफ्नो हेराई बदल्ने हो र आफुलाई बदल्ने हो भने पहिले आफ्नो नराम्रो पक्षको बारेमा आफैं जानकार हुनु पर्यो ।
आफूलाई जाँच्न के के गर्ने ?
पहिले त यो हेर्ने कि मेरो बानी के छ ? म कस्तो छु ? मेरो व्यवहार कस्तो छ ? मेरो बोली बचन कस्तो छ ? मेरो प्रवृत्ति कस्तो छ ? के म सबै प्रति सकारात्मक छु ? के म प्रेम पूर्ण छु ? के मेरो ब्यबहारले अरुको चित्त दुखि रहेको त छैन ? हामी आफै मूल्यांकन गर्न सक्छौं। यसका लागि केही गर्नै पर्दैन, दिनभरको आफ्नो व्यवहार नै नियाल्दा पुग्छ। दिनभर के गरियो, कसरी बोलियो, को को संग कति पटक झुट बोलें, कति पटक अरुलाई ठगें, लुट्ने खोस्ने जस्ता कार्य त गरिन ? स्वयं जाँच्न सकिन्छ ।
यसबाहेक अन्य समयमा वा परिस्थितीमा पनि हाम्रो व्यवहार कस्तो हुन्छ ? र कस्तो हुनु पर्ने हो ? मूल्यांकन गरौं ।
परिवारको अगाडीः कार्यालयमा भएको तनाव हामी कार्यालय मै छाडेर आउछौं कि कहीं हामी घरमा आएर परिवार माथि त्यो तनाव पोख्दछौँ ?
अशक्तको अगाडिः
मानौं, कुनै दृष्टिविहिन व्यक्ति असजिलो बाटोमा हिँडिरहेका छन् । उनीहरुलाई धकेल्दै, उछिन्दै हिँड्छौं वा दोहर्याउन सहयोग गर्दछौं ? सर्वजनिक यातयात चढ्दा होस् वा कुनै पसलमा किनमेल गर्दा उनीहरुलाई कसरी साथ दिन्छौं ?
बुढापकाको अगाडिः मानौ कुनै वृद्धवृद्धा बसिरहेका छन् ।उनीहरुलाई सम्मानजनक व्यवहार गर्दछौं कि उपेक्षा गर्दछौं ?
कमजोर व्यक्तिको अगाडिः कमजोर, गरिब, असह्य, साना व्यक्तिलाई हेपाह व्यवहार गर्ने र ठूलाबढाको चाकडी गर्ने प्रवृत्ति हुन्छ धेरैसँग। यस्ता व्यक्तिलाई हप्काउने, दप्काउने गर्दछौं वा सम्मान र सन्तुलित व्यवहार गर्दछौं ?
पशुपंक्षीको अगाडिः
मानौं तपाई बाटोमा हिँडिरहेको बेला कुनै भुस्याह अर्थात सडक कुकुर देख्नुहुनेछ, तब के गर्नुहुन्छ ? लात बजार्नुहुन्छ कि साहनुभूतिपूर्वक केही खानेकुरा दिनुहुन्छ ?
सार्वजनिक स्थानमाः
सार्वजनिक स्थानमा चुरोट तान्दै, चर्को स्वरमा गफ गर्दै, गुटका, पराग जस्ता चिज खाएर जथाभावी थुक्दै, कागज–प्लाष्टिक जथाभावि मिल्काउँदै हिँड्छौं कि सभ्य व्यवहार प्रस्तुत गछौं ?
(कार्की विगत १० वर्षदेखि पुँजी बजारमा सक्रिय छन्)
Ati ramro ra sandarvik