सरकारले गर्यो एकै पटक १० सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले एकै पटक १० जना सचिवको सरुवा गरेको छ । आज  सोमबार बसेको मन्त्रीपरिषद् बैठकले १० जना सचिवको सरुवा गरेको हो । सरुवा गरेका सचिवमध्ये ३ जना सचिवको ४ महिना नपुग्दै दोस्रोपटक सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले तीन सचिवलाई सरुवा भएको ४ महिना नपुग्दै दोस्रोपटक सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव महेश्वर न्यौपाने र भरतमणी सुवेदीको ४ महिना नपुग्दै पुनः सरुवा भएको हो ।

गत साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिव महेश्वर न्यौपानेको गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो । सरुवा भएर आएको चार महिना पुग्न नपाउदै उनको पुनः सरुवा भएको हो । गत भदौमा लुम्बिनी प्रदेशको प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएका सचिव भरतमणी सुवेदीको पनि तीन महिनामा नै दोस्रो पटक सरुवा भएको छ ।

यस्तै निर्वाचन आयोगमा सरुवा भएका सचिव गोकर्णमणि दुवाडीको पनि चार महिना नपुग्दै दोस्रो पटक सरुवा भएको छ । दुवाडीलाई गत साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ को प्रमुख सचिवबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको थियो ।

७ सचिव कहाँ पुगे ?

मन्त्रीपरिषदको निर्णयानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ । उनले यसअघि उक्त मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर पनि काम गरेका थिए ।

सामान्य प्रशासन मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । उक्त मन्त्रालयमा रहेका सूर्यप्रसाद गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ । सो मन्त्रालयमा रहेका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको छ ।

उक्त मन्त्रालयमा रहेका शिक्षा तर्फका सचिव रामप्रसाद थपलियाको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समुहमा राखेर ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीको निर्वाचन आयोगमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव भरतमणि सुवेदीलाई आयोगमा ल्याइएको छ ।

सरुवा भएका सचिवहरुले भोलि सरुवा पत्र बुझ्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो । पत्र पाएपछि उनीहरु सरुवा भएको मन्त्रालयमा हाजिर हुनेछन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स