काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पौष २६ गते काठमाडौंको जमलस्थित याल्लो प्यागोडा होटलमा सम्पन्न भएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष विज्ञान राज शर्माको अध्यक्षतामा, संस्थापक सेयरधनीहरू, पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, र विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
सभाको उद्घाटन अध्यक्ष विज्ञान राज शर्मा, वरिष्ठ सल्लाहकार तथा सेयरधनी, अमेरिकाका लागि महामहिम महावाणिज्यदूत प्रेमराजा महत र युकेका लागि पूर्व काउन्सिलर तथा महावाणिज्यदूत, अनुभवी र प्रसिद्ध उद्यमी, नेपालको जलविद्युत् र पर्यटन उद्योगका लगानीकर्ता पशुपति भण्डारीले संयुक्त रूपमा पानसमा बत्ति बालेर गरेका थिए।
साँझ ५ बजे औपचारिक रूपमा सुरु भएको कार्यक्रम प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सञ्चालन गरेका थिए। अध्यक्षको स्वागत मन्तव्यपछि संस्थाका सञ्चालक प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरे।
प्रतिवेदनमा कम्पनीले स्थापनाकालदेखि सन्तोषजनक प्रगति गर्दै आएको र भविष्यमा अझ गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरे । प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले त्यसपछि कार्यालयमा सम्पन्न विविध गतिविधिहरूको विस्तृत प्रस्तुति दिए।
कम्पनीले हालसम्म 1,00,00,000+ Social Media Reach, 1,500+ Corporates Served, 24,000+ People Travelled, 60 +Promoters, 1,35,000+ Membership, 27,000+ Inquiries Received, 30+ Team Strength र वर्षमा 365 Days Served का माइलस्टोन हासिल गरेको छ।
सभामा आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू प्रस्तुत गरिए, जुन सेयरधनीहरूको सर्वसम्मतिले पारित गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘इन्भेष्ट अन ट्राभलिङ’ अवार्ड प्रदान गरिएको थियो । जसअन्तर्गत संस्थाको व्यापार व्यवसाय प्रवर्द्धनमा उत्कृष्ट योगदान पुर्याउने सेयरधनीलाई सम्मानित गरिएको थियो। उक्त पुरस्कार पशुपती भण्डारी, बेनिन्द्र कटुवाल ,लक्ष्मि गुरुङ ,दिनेश थापा ,विनय अमात्यहरूलाई प्रदान गरेका थिए ।
कार्यक्रमको अन्त्यमा कम्पनीका निर्देशक क्रिष दंगोलले धन्यवाद ज्ञापन गर्दै सबै सहभागीहरूको भूमिका र सहयोगप्रति आभार व्यक्त गरे। सभाको समापनपछि सहभागीहरूको लागि रात्रिभोजको समेत व्यवस्था गरिएको थियो। यस भव्य कार्यक्रमले गुरु ट्राभल्स लिमिटेडको प्रगति, प्रतिबद्धता, र पर्यटन क्षेत्रको भविष्यप्रतिको दृष्टिकोणलाई थप उजागर गरेको छ।