काठमाडौं । एनसेलले आफ्ना सधैं अन प्याकहरु लिने ग्राहकहरुलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् ।
बिहीबार (पुष २५)बाट शुरु भएको यो योजना अन्तर्गत सधैं अनका ३९९ रूपैयाँबाट शुरु हुने बेस्ट र ७९९ रूपैयाँबाट शुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राती ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् । यसको मतबल प्याकमा पाइने बन्डल सेवा, सुविधा बाहेक अब ग्राहकहरुले यो नाइट डेटा पनि पाउँछन् ।
सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको हो । ३९९ रूपैयाँ, ४९९ रूपैयाँ, ५९९ रूपैयाँका बेस्ट प्याक र ७९९ रूपैयाँ, ९९९ रूपैयाँ र १,४९९ रूपैयाँका अनलिमिटेड प्याक लिने ग्राहकहरुले यो योजनाबाट फाइदा लिन सक्छन् । यो थप सुविधा बाहेक कम्पनीले यी प्याकहरु लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको छ ।
२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याक अनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ । त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरुले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् ।
एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना संचालनमा ल्याएको थियो । यसको मुख्य औचित्य भनेको आम नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधैँ अन राख्न प्रेरित गर्दै सशक्त बनाएर डिजिटल भविष्यतिर डोर्याउनु हो ।