काठमाडौं । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केहि समाचार पोर्टलहरूमा इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भइरहेकोले त्यस्ता समाचारहरुको पछि नलाग्न समस्त ग्राहक तथा प्रयोगकर्तालाई इसेवाले अनुरोध गरेको छ ।
केही अनलाइन समाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरहरुले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा इसेवाको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको समेत जानकारी गराएको छ । सर्वप्रथम इसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरु तथा मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारी गराएको छ ।
‘भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरुको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रयोगकर्ताहरुको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ ।’ इसेवाले भन्यो, ‘इसेवाको हकमा पनि यहीँ कुरा लागू हुने भएकोले हाल सामजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित गरिएको खबरहरुलाई दुरुत्साहन गरिन्छ । ’
आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्य तथ्यमा विश्वास गर्न इसेवाले आग्रह गरेको छ ।