म्याग्दी । म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक आयोजना निर्माण सुरू भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडकअन्तर्गत खारा–बिम–डाँडागाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो ।
गत असारमा ११ करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले यसै महिनादेखि सडक स्तरोन्न्तिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए ।
ठेक्काको अवधि दुई वर्षको रहेको छ । विसं २०६७ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा संकलनबाट बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो । हाल तीन दशमलव पाँचदेखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने भएको छ ।
दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारीसाधन गुड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँ हुँदै डाँडागाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १९२० बाट निर्वाचित रेशमबहादुर जुग्जालीले बताए ।
जुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा चार करोड बजेट विनियोजन गरेर बहुवर्षीय ठेक्का लगाउन २० करोडको बजेटको स्रोत सुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने एक करोड ५० लाख मात्र विनियोजन भएको छ ।
यो सडकबाट मालिका गाउँपालिका–७ को साविक बिम गाविस, धौलागिरि गाउँपालिकाको वडा नं ५ मल्कवाङ र ६ मराङ तथा मालिका गाउँपालिका–६ दिच्यामका बासिन्दा लाभान्वित हुनेछन् ।
धार्मिक पर्यटकीयस्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुम्न तथा दर्शन गर्न जाने पर्यटक एवं भक्तजनलाई सहज हुनेछ । सुुन्तला, आलुलगायत कृषिउपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको खाराका बासिन्दा बुद्धिबहादुर जुग्जालीले बताए ।