काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले परियोजना निर्माण गर्दा सम्पूर्ण रुपमा पूर्व तयारी सम्पन्न गरेर मात्रै निर्माण सुरु गर्नुपर्ने बताए ।
शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालः सरकार र निजी क्षेत्रको भुमिका’ विषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् ।
वन, जग्गा प्राप्ती, रुख कटानी जस्ता विषयका कारण पनि निर्माण कार्यमा समस्या भइरहेको बताए । जलविद्युत् परियोजनाको निर्माण कार्यमा पनि यस्तो समस्या देखिएको उनको भनाइ छ ।
परियोजनाको निर्माण सुरु हुनु भन्दा पहिला नै वन, जग्गा प्राप्ती, रुख कटानी जस्ता विषयमा आउने समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै, लक्ष्यअनुसार जलविद्युत् परियोजना निर्माण गर्न सरकारले लगानी जुटाउने मामिलामा सहयोग गर्नुपर्ने बताए । साथै, जलविद्युत् परियोजनाको निर्माणमा स्वदेशी निर्माण व्यवसायीलाई नै प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
‘सरकारले २०३५ भित्र साढे २८ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसमा निजी क्षेत्रले पनि सहयोग गर्नेछ । साथै, विद्युत् निर्यात गर्ने लक्ष्य लिइएको छ । तसर्थ, यसमा लगानी प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ,’ उनले भने, ‘साथै, त्यसको निर्माणका लागि स्वदेशी निर्माण व्यवसायीहरुलाई नै प्रोत्साहन गर्नुपर्छ ।’