काठमाडौं । काठमाडौंको नक्साल नन्दीकेशर बगैंचा (नारायण चौर) मा मंसिर ८ र ९ गते वुमेन अफ द वर्ल्ड (वाउ), को सातौं संस्करण आयोजना हुँदैछ । महिला र बालिकाहरुले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयास यसको मुख्य ध्येय हो ।
लैंगिक उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको विषयमा सम्मेलनले धेरै मानिसलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । यसका लागि ब्रिटिस काउन्सिलले काठमाडौं महानगरपालिका र द वाउ फाउन्डेसन, बेलायतसँगको सहकार्यमा सम्मलेन आयोजना गर्न लागेको हो । यसमा नेपाली र बेलायती साझेदारी छ ।
यस्ता कार्यक्रमहरु सामान्यतया बन्द कोठाभित्र हुने गरेका छन् । यसलाई खुला र सबैको पहुँचमा लैजान बगैंचामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
सम्मेलन, समानता र लैंगिकताबारे आपसी र सिकाइ आदानप्रदान गर्ने सार्वजनिक मञ्च हो । १० हजार बढी व्यक्ति व्यक्तिहरुको सहभागिता हुने अपेक्षा गरिएको महोत्सव प्रवेश निःशुल्क हुनेछ । महोत्सवमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले राजनीतिक प्रतिनिधित्व गर्ने छिन् ।
कथा घेरा थिएटर, कर्णाली कला केन्द्रसहित गायिका कुन्ती मोक्तान, गायिका सुवानी मोक्तान, रचना दाहाल, गौमाया गुरुङ् सहित २ सयभन्दा धेरै महिला कलाकार सहभागी हुने छन् । त्यहाँ उनीहरुको प्रस्तुति पनि हुनेछ ।
२ दिन चल्ने महोत्सवमा बिहान योग बक्सिङ् हुनेछ । दिनमा चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल र संवाद, परामर्श सत्रहरु, प्रदर्शनी, स्थानीय उत्पादन तथा खानाको विक्री, गीत, संगीत, गायन, नृत्य तथा कला प्रस्तुतिसँगै बालबालिकाका लागि विशेष खेल र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन् ।
फेस्टिभलमा अल्पसंख्यक कलाकार तथा वक्ताहरुलाई समावेशी तथा लैंगिक क्षेत्रमा गरेका कामका विषयमा जानकारी दिन, सोच प्रदर्शन तथा धारणा राख्नका लागि अवसर दिइनेछ । यहाँ सहभागी महिलाहरुले आफ्ना समस्या, दबाब, अभाव र अवसरका विषयमा खुला छलफल गर्नेछन् । यो राजनीतिकर्मी, अधिकारकर्मी, कला, साहित्य र संगीतजस्ता सिर्जनात्मक क्षेत्रका काम गरिरहेका महिलाहरुले आफ्ना क्षेत्रका अनुभव बाँड्ने अवसर पनि हो ।
यसरी चल्ने सत्रहरुमा जलवायु परिवर्तन, खेलकुद, आमसञ्चारलगायत विभिन्न पेशामा महिलाको भूमिका र पहिचानका विषय समेटिनेछन् । लैंगिक मुद्दामा महिला र बालिकाहरुको क्षमता वृद्धि गर्ने महिला नेतृत्वमा प्राप्त महत्वपूर्ण उपलब्धी र उपलब्धि हासिल गर्दाका प्रयत्नका विषयमा उत्प्रेरणात्मक सत्र चल्नेछन् ।
‘लैंगिक र समावेशी कार्यक्रम’ सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले व्रिटिस काउन्सिलसँग गएको वैशाख १० गते समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्मेलनपछि लैंगिक संवेदनशीलताका विषयमा सचेतना र जागरुकता बढाउन २ सय जनालाई सिप प्रदान गर्ने कार्यक्रम सञ्चालन हुनेछ ।
महोत्सवको मिति : २०८१ साल, मंगसिर ८ र ९ गते
समय : बिहान ८ देखि बेलुकी ८ सम्म
स्थान : नन्दी केशर बगैंचा, नारायणचौर, नक्साल, काठमाडौं