काठमाडौं । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदारले सातु बिक्री गरेर मासिकरुपमा ५० हजार रुपैंयाँ आम्दानी गदैं आएका छन् । उनी बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिएर आइपुग्छन् । ठेलमा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उनको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ ।
उनले भने, ‘ठेला राम्रो छैन तर ग्राहक सातु खाएर सन्तुष्टि छन् । सातु बिक्री गरेर मासिकरुपमा रु ५० हजार आम्दानी हुन्छ ।’
उनका अनुसार गर्मीका बेलामा दैनिक रुपमा दुई सयदेखि दुई सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको र चिसोका बेलामा एक सयदेखि एक सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ। दैनिक रुपमा सामग्री महँगिँदै गएका बेलामा प्रति गिलास सातुको ४० रुपैंयाँ लिने गरेको पौदारले बताए। दैनिक रुपमा चार हजारदेखि पाँच हजार रुपैंयाँसम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रुपमा ५० हजारदेखि ६० हजार रुपैंयाँसम्म आम्दानी हुने गरेको उनको भनाई छ ।
उनीले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आएका छन् । उनले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताए ।
सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उनको भनाई छ । आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दानीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उनले बताए । एक लाखदेखि दुई लाख रुपैंयाँसम्म खर्च गरेर विदेशमा गएर ४० हजारदेखि ५० हजार रुपैंयाँ आम्दानी गर्दै आएकोमा आफू सोही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको र दैनिक रुपमा सयौँ साथीभाइसँग भेट समेत गर्दै आएको उनले बताए । उनले भने, ‘स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनुपर्दैन ।’