चितवन । भरतपुर महानगरपालिकाले पुंगी खोला किनारमा अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैंले भत्काउन थालेका छन् । महानगरले पुंगी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारेसँगै नियमविपरीत निर्मित संरचना घरधनीले आफैं भत्काउन थालेका हुन् ।
गत असोज २ गते महानगरपालिकाले केही संरचनामा डोजर चलाएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट अतिक्रमण गरी बनाइएका संरचना घरधनी आफैंले भत्काउन थालेको बताए । पुंगी खोलाको बाइपास सडकदेखि लाइन्सचोकसम्म अतिक्रमण गरी बनाइएका संरचना घरधनीले आफैंले भत्काइरहेका छन् ।
पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट छ करोड ६५ लाख बजेट विनियोजन भएको छ ।
बाइपास सडकदेखि नारायणी नदीसम्म पुंगी खोला ६ दशमलव ५ किलोमिटरमध्ये बाइपासबाट लायन्सचोकसम्म तीन किलोमिटर र त्यहाँबाट नारायणीनदीसम्म सौन्दर्यीकरणको काम गत वर्षदेखि जारी छ । नगरलाई सुन्दर बनाउन खोला किनारका मुख्य बजारमा उद्यान, कसरत गर्ने स्थल, पैदलमार्गलगायत संरचना निर्माण हुने छन् ।