काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको तिहारमा ग्रस्तास्त सूर्यग्रहण परेकाले त्यसका आधारमा शास्त्रसम्मत निर्णय गरिएको जनाएको छ । समितिले आज यस वर्षको तिहार अर्थात् स्वन्ति पर्वका विषयक छलफलमा समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले कात्तिक ८ गते मंगलबार ग्रस्तास्त सूर्यग्रहण परेकाले त्यस दिन चार प्रहरसम्म ग्रहण बार्नुपर्ने शास्त्रीय नियमअनुसार निर्णय गरिएको जानकारी गराए ।
कात्तिक ९ गते सूर्योदय नभएसम्म केही गर्नु नहुने शास्त्रीय वचनअनुसार निर्णय गरिएको समितिले जनाएको छ । तिहारका विषयमा पाटन र भक्तपुरका नेवार समुदायले फरकफरक निर्णय सार्वजनिक गरेपछि समितिले आज गरेको छलफलका क्रममा समितिमा फेरि छलफल गर्ने र अर्को वर्षदेखि यस्ता विषयमा पञ्चाङ्ग पात्रो प्रकाशन गर्नुअघि नै सरोकार भएकासँग छलफल गरिने पनि अध्यक्ष अधिकारीको प्रतिबद्धता छ ।
समिति सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले ग्रहणको शास्त्रीय आधार नबुझी यस वर्षको तिहारको निर्णय हुन नसक्ने भएकाले त्यसैअनुरुप निर्णय गरिएको बताए । समितिले शास्त्रसम्मत निर्णय गरेको उल्लेख गर्नुहुँदै उनले शास्त्रसम्मत निर्णय मान्ने कि स्वेच्छाचारितामा अघि बढ्ने निर्णय गर्न व्यक्ति स्वतन्त्र रहेकामा जोड दिए ।
कार्यक्रममा समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल, पञ्चाङ्गकार सिद्धिलक्ष्मी व्यञ्जनकार, नेवा: देय दबूका अध्यक्ष पवित्र बज्राचार्य, हीरण्यवर्ण महाविहारका पुष्पराज बज्राचार्य, भक्तपुरका ज्योतिषी कृष्णराज जोशी, जोशी समाजका सुरेन्द्रगोविन्द जोशी, ललितपुरका ज्योतिषीहरू कीर्तिमदन जोशी र केशवगोविन्द जोशीलगायतले छलफल जारी राखी ठोस निर्णयमा पुग्नुपर्नेमा जोड दिए।
यस वर्ष कात्तिक ५ गते शनिबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु हुने समितिले जनाएको छ । ५ गते यमदीपदान, धनत्रयोदशी धनतेरस, ६ गते आइतबार कागतिहार, ७ गते सोमबार कुकुर तिहार, नरक चतुर्दशी, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि, ८ गते मंगलबार गाईपूजा, खण्डग्रास सूर्यग्रहण, ९ गते बुधबार गोवद्र्धनपूजा, आत्मपूजा म्हपूजा र १० गते बिहीबार भाइटीका किजापूजा परेको छ ।