एउटा ग्राहकले ३ वटा लघुवित्त सम्म कारोबार गर्न पाउने व्यवस्था गर्न नेपाल लघुवित्त बैंकर्सको माग

काठमाडौं । नेपाल लघुवित्त बैकर्स संघले एउटा ग्राहकले ३ वटा लघुवित्त सम्म कारोबार गर्न पाउने व्यवस्था गर्न सुझाव दिएको छ । कर्जाको अधिकतम ७ लाख रुपैयाँको सीमा भित्र रही ३ तीन वटा लघुवित्तबाट कारोबार गर्न पाउने व्यवस्था गर्न लघुवित्त बैकर्स संघले माग गरेको हो ।

एकै ग्राहकले एक दर्जन भन्दा बढी लघुवित्तबाट ऋण लिएर कारोबार गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले एउटा ग्राहकले एउटै मात्र लघुवित्तबाट मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको थियो । एउटै ग्राहकले एक लघुवित्तबाट ऋण तिर्न अर्को लघुवित्तबाट ऋण लिएर कर्जा तिर्ने परिपाटी शुरु भएपछि राष्ट्र बैंकले एउटा व्यक्तिले एउटै लघुवित्तबाट मात्रै कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

नेपाल लघुवित्त बैकर्सं संघका उपाध्यक्ष एवम् मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालका अनुसार ‘लघुवित्तमा झाँगिएको समस्या हटाउन राष्ट्र बैंकको नीति सही जस्तो देखिए पनि लिएको ऋण उठाउन र थप ऋण प्रवाह गर्न समस्या देखिएपछि ३ वटासम्म लघुवित्तबाट अधिकतम कर्जा सीमा भित्र रहेर ऋण लिन पाउने व्यवस्था गर्न राष्ट्र बैंकलाई लेखि पठाएका हौं ।’

नेप्सेमा सूचीकृत धेरैजसो लघुवित्तले गतवर्षको नाफाबाट यस वर्ष लाभांश नदिने घोषणा गरेका छन् । नेपाल लघुवित्त बैकर्स संघले कस्ट अफ फन्ड घटाउन वाणिज्य बैंकबाट ओभरड्राफ्ट सुविधा दिन समेत माग गरेको छ । अन्य वैकल्पिक वित्तीय स्रोतको रुपमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र बीमा कम्पनीहरुबाट लघुवित्त क्षेत्रमा सहुलियत पूर्ण ऋण लगानी गर्न पाउने व्यवस्था गर्न पनि नेपाल लघुवित्त बैकर्स संघले माग गरेको छ ।

उपाध्यक्ष दाहालले लघुवित्तका ग्राहकलाई बढीमा १५ प्रतिशत मात्रै व्याज लिन पाउने व्यवस्थालाई परिमार्जन गरी अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई जस्तै लघुवित्तलाई पनि वैज्ञानिक आधारमा आफ्नो आधार दर वा कोष लागतमा आधारित व्याज दर निर्धारण गर्न पाउने नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा कुल कर्जाका ५ प्रतिशत विपन्न वर्ग कर्जा प्रदान गर्नुपर्छ । लघुवित्तलाई प्रदान गरेको थोक कर्जालाई मात्रै विपन्न वर्ग कर्जाको रुपमा गणना गर्न लघुवित्त बैकर्स संघले माग गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स