काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेकोे पुस ८ गतेको निर्णयानुसार लघुवित्तको धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय गरेको हो ।
लघुवित्तको पुस ७ गते गते साँझ ५ः३० बजे बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको थियो । तर सोको जानकारी नेप्सेमा अर्को दिन अर्थात पुस ८ गते १२ः१३ बजे कारोबार समयमा नट्समार्फत गराइएको थियो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप संस्थाको धितोपत्रको कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।
साथै, नेप्सेले ३ कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन समेत दिएको छ ।