पत्रकार र पत्रकारितासँग बैंकर राजन सिंह भण्डारीको भोगाइ

काठमाडौं । वरिष्ठ बैंकर राजनसिंह भण्डारीको आत्मकथा कृति बजारमा आएको छ । मिनेट मिडिया प्रालि प्रकाशक रहेको त्यस कृतिमा पुर्खा र परिवारिक पृष्ठभूमि, बाल्यकाल र प्रारम्भिक शिक्षा, त्यो मधेस, त्यो औरही, मेरा सोख र स्वभाव, राष्ट्र बैंकमा २६ वर्ष, बैंकर्स संघको अध्यक्ष, गीतको दुनियाँमा मौसुफ भण्डारी र पारिवारिक कलहलगायत विषयमा आत्मकथाको कथा समावेश छ ।

उनले आफ्नो कृतिमा ‘पत्रकार साथीभाइहरु’ शिर्षक दिएर पत्रकार र पत्रकारितासँगको आफ्नो भोगाइ समेत साटेका छन् ।

उक्त शिर्षकमा समावेश विषयवस्तुहरु जस्ताको त्यस्तै….

पत्रकार साथीभाइहरु
डा तिलक रावल नेपाल राष्ट्र बैंकको गभर्नर रहँदाका बखत मेरो चिनापर्ची श्री अच्युत वाग्लेजीसँग भयो । उहाँलाई अरुले त्यति मन नपराए पनि मेरो नजरमा उहाँ भलाद्मी, विद्वान् र आफ्नो विषय उपर राम्रो दख्खल भएको रमाइलो व्यक्ति हुनुहुन्छ । अहिले उहाँ काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । उहाँले भनेका एकदुई कुरा मैले गर्न नसके पनि उहाँसँगको मित्रता मेरो राम्रो छ ।

मेरा अर्का पत्रकार मित्र उज्ज्वल शर्मा हुनुहुन्छ । उहाँलाई पनि मैले डा तिलक रावलमार्फत् नै चिनेको हुँ । उहाँ पत्रकारिता जगतमा ५२ घुस्सा ५३ ठक्कर खाएको मान्छे हो भन्ने मेरो बुझाइ छ । एलसी काण्डमा परेका व्यापारी आनन्द अग्रवाल र प्रकाश टिवडेवालाको संगतमा लागेर ऋणमा चुर्लुम्मै डुबेँ भनेर बेलाबेला मलाई भन्ने गर्नुहुन्थ्यो । उहाँ सिरहाको जमिनदार परिवारको सन्तान हो ।

तर, उहाँको मुखबाट मैले उहाँको दुःखवाहेक सुखको कुरा कहिल्यै सुन्न पाएको छैन । मैले आफ्नो तर्फबाट गर्ने सहयोग तर उहाँ सन्तुष्ट हुनुहुन्न । जे होस्, उहाँसँग मेरो आत्मीय सम्बन्ध छ । म राष्ट्र बैंकमा कार्यरत रहँदा मेरा बारेमा दृष्टि साप्ताहिकले भ्रामक समाचार सम्प्रेषण गथ्र्यो। गभर्नर डा तिलक रावललाई मेरो बारेमा त्यसरी समाचार सम्प्रेषण भएको चित्त बुझेको थिएन । त्यसैले उहाँले मलाई बोलाएर भन्नुभयो, ए राजनजी, तपाई असल मान्छे हो। तर तपाईंका बारेमा गलत समाचारहरू दृष्टिमा छापिएका छन्। मेरो एकजना मित्र देवप्रकाश त्रिपाठीजी तपाईं उहाँलाई भेट्नुहोस्, उहाँले दृष्टिको शम्भु श्रेष्ठसँग भेटघाट गराई कुरा मिलाइदिन सहयोग गर्नुहुन्छ ।

त्यसपछि देवप्रकाश त्रिपाठीजीले उहाँको घटना र विचार साप्ताहिकको कार्यालय बबरमहलमा मलाई र दृष्टि साप्ताहिकका शम्भु श्रेष्ठलाई बोलाए परिचय गराउनुभयो । कुराकानी चल्यो । शम्भु श्रेष्ठको नजरमा म त ठूलै अपराधीजस्तो रहेछु भन्ने मेरो बुझाइ भयो । त्यसपछि मलाई झोँक चल्यो । मैले भनें, मैले नचाहिने वा गलत काम गरेको छु भने मेरो बारेमा जति लेख्दा पनि हुन्छ । तर, नचाहिँदो र गलत कुरा मात्र लेख्दै गयो भने म क्षेत्रीको छोरा हुँ । जेल जान तयार छु तर तिमीलाई बाँकी राख्दिनँ ।

यति भनेपछि दुईचार वर्षसम्म दृष्टिले मेरो बारेमा कुनै पनि समाचार सम्प्रेषण गरेन ।
यसपछि मेरो देवप्रकाश त्रिपाठीसँग आजका दिनसम्म पनि राम्रो मित्रता कायम रहेको छ । उहाँले जलविद्युत क्षेत्रमा पनि लगानी गर्नुभयो । त्यसमा उहाँ सफल हुन सक्नुभएन र घाटा खाएर बाहिरिएको कुरा सुनाउनुहुन्थ्यो । त्यसपछि उहाँले नागरिक शक्ति नेपाल नामको पार्टी पनि खोल्नुभएको छ । देश र जनताको हितमा काम गर्ने अठोट लिइरहनुभएको छ । म एउटा हितैषी मित्र भएको नाताले उहाँको सफलताको लागि कामना गर्दछ ु। देवप्रकाश त्रिपाठीजीले शम्भु श्रेष्ठसँग चिनजान गराएपछि बेलाबेलामा हामीबीच घोचपेच त चलि नै रहन्छ, तर पनि उहाँलाई मैले आफ्नो एक असल मित्र भनेर नै सझिन्छु ।

पत्रकार मदन लम्साल पनि मेरा मित्र हुनुहुन्छ, जसलाई म एकदमै सकारात्मक सोचको लगनशील व्यक्तिका रूपमा चिन्छु । उहाँले अभियान साप्ताहिक चलाएदेखि हाम्रो चिनजान हो। अहिले न्यू बिजनेस एको मुख्य व्यक्ति हुनुहुन्छ । उहाँको कार्यालयमा म दुईचारपटक गएको छ । यो व्यवसाय सञ्चालन गर्न कति सुख वा दुःख छ ? त्यो उहाँलाई नै थाहा होला । तर, उहाँले धेरैलाई रोजगारी दिएको कुरा मेरो नजरमा एकदमै सहाहनीय छ ।

पत्रकार साथीहरूमा अन्यको चर्चा गर्नुपर्दा विजय घिमिरे, प्रेम खनाल, गजेन्द्र विष्ट, जयप्रकाश त्रिपाठी, नवीन उप्रेती, हिमाल न्यौपाने, ज्ञानेश्वर आचार्य, मेनुका कार्कीसँग पनि चिनापर्ची छ । तर उहाँहरूलाई मैले आफ्नो भाइबैनीसरह मान्दछु । आजका दिनमा विजय घिमिरे अमेरिका बस्छन् ।

प्रेम खनाल र हिमाल न्यौपाने पत्रकारिताभन्दा बाहिरको पेसामा छन् । ज्ञानेश्वर आचार्य बाह्रखरी अनलाइन पत्रिकाको प्रबन्ध निर्देशक छन् । मेनुका कार्कीसँग भेट हुँदा मैले कति अरुको संस्थामा काम गर्ने ? आफै मालिक बन्नुपर्छ भन्ने गर्थे । मैले भनेको कारण हो या उहाँको आफ्नै सोच हो, पछि हाम्रो अर्थ भन्ने आफ्नै अनलाइन पत्रिका सञ्चालनमा ल्याएको थाहा पाएँ ।

गजेन्द्र विष्टले पहिला इकानोमिक पोस्ट पत्रिका चलाउँथे । त्यसबेलादेखि नै मेरो उहाँसँग परिचय भयो । उहाँको पत्रिकामा मैले एउटा अन्तर्वार्ता दिएको थिएँ । त्यसबेला न्यु नेपाल, न्यु नेपाल सबैले भन्ने गर्थे । मैलेचाहिँ न्यु नेपाल पछि गएर नो नेपाल नहोस् भनेर आफ्नो विचार दिएको थिएँ ।

ऊ पनि मेरो भाइ नै हो । हाम्रो पारिवारिक निकटता पनि बढेको छ । अहिले बैंकिङ क्षेत्रमा पनि लागेर प्राइम कमर्सियल बैंकको संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स