पर्वतका ४६ हजार नागरिक स्वास्थ्य बिमामा आवद्ध

काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन ।

जिल्लाको कूल जनसंख्याको ३५.५प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका सातै वटा पालिकाका ४६ हजार तीन सय ९६ जनाले स्वास्थ्य बिमा गरेका हुन् ।

स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत असोज मसान्तसम्म १६ हजार पाँच सय ७० परिवारका ४६ हजार तीन सय ९६ जना नागरिकले स्वास्थ्य बीमा गरेर उपचार सेवा लिँदै आएका छन् ।

कार्यालयकी संयोजक एवं दर्ता अधिकारी सिया गुरुङले जिल्लाका सात वटा स्थानीय तहमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका १६ हजार पाँच सय ६६ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

सबैभन्दा कम महाशिला गाउँपालिकाका एक हजार आठ सय तीन जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा रहेका उनले जानकारी दिए ।

फलेबास नगरपालिकाका छ हजार आठ सय ५९, मोदी गाउँपालिकामा छ हजार आठ सय एक, जलजला गाउँपलिकामा आठ हजार चार सय ४४ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

दर्ता अधिकारी गुरुङका अनुसार विहादी गाउँपालिकामा दुई हजार दुई सय २२ र पैयुँ गाउँपालिकामा तीन हजार सात सय एक जनाले बीमा गरेका हुन् । विसं २०८० असोज १ गतेदेखि गत भदौ मसान्तसम्म १० हजार तीन सय ७९ जना बीमामा आबद्ध भएका छन् ।

वि.सं २०८० भदौ मसान्तसम्म ३६ हजार १७ जना नागरिक आबद्ध भएका थिए । स्वास्थ्य बिमाका लागि जिल्लाका ६१ वटा वडामा प्रतिनिधि खटाइएको भन्दै दर्ता अधिकारी गुरुङ सबै नागरिकलाई बिमातर्फ आकर्षित गर्न नसकिएको बताए । उनका अनुसार जिल्लाको कूल जनसंख्या मध्ये ८४ हजार चार सय ९१ जना बीमाको पहुँचभन्दा बाहिर छन् ।

नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकताअनुसार सूचीत गराउन नसक्दा बिमाप्रति आकर्षण बढ्न नसकेको स्वास्थ्य बिमाका क्षेत्रमा काम गर्ने कर्मचारीहरु बताउँछन् ।

वडाहरूमा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीलाई तालिमको अभावका कारण सेवाग्राहीले बिमासम्बन्धी आवश्यक कुरा बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहज रूपमा बीमितहरुले (उपचार सेवा र औषधि) नपाएको गुनासो गर्नु, जिल्लाका सम्पर्क शाखा कार्यालयमा आवश्यक जनशक्ति नहुनु, वडामा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगी नियमित बिमकसँग नपुग्नुले समस्या भइरहेको कर्मचारीको भनाइ छ ।

अधिकांश नागरिक बसाइँसराइ गरेर अन्यत्र गइरहेको, गाउँमा शिक्षित नागरिक र युवापुस्ता नभएकाले पनि बीमा जिल्लाको जनसंख्याअनुसार बिमा गराउने नागरिकको सङ्ख्या बढ्न नसकेको दर्ता सहयोगी आशंका श्रेष्ठले बताए ।

जिल्लामा स्वास्थ्य बिमा गर्नेहरुको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको छ । सामान्य बिरामी हुँदा पनि अस्पताल आएर उपचार गराउन थालेको अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिए । उपचार गर्न र सिफारिस बनाउनका लागि दैनिक सयौँ बिरामी अस्पताल आउने गरेको उनले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स