काठमाडौं । दशैंको छेकमा आएको अविरल वर्षाका कारण ८ अर्ब ९८ करोड रुपैयाँ दावी परेको छ । बाढी कारण क्षति भएको भन्दै ३ हजार २४४ वटा दावी विभिन्न निर्जीवन कम्पनीमा परेको हो । नेपाल बीमा प्राधिकरणले असोज २९ गतेसम्म निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम यो तथ्यांक तयार पारेको हो ।
सो दावीमध्ये सबैभन्दा बढी दावी सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको रहेको छ । कुल ९ अर्बको दावीमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले मात्रै १ अर्ब ९५ करोड २९ लाख रुपैयाँ दावी माग भएको छ । यो कम्पनीमा ४६१ वटा दाबी परेको छ ।
१९ निर्जीवन बीमा कम्पनीमा दोस्रो बढी दावी दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीको रहेको छ भने तेस्रो हिमालयन एभरेष्ट इन्स्योरेन्सको रहेको छ ।
दि ओरिएन्टलमा १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ बराबरको क्षतिको माग भएको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको १ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बीमा दावी माग भएको हो । ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा१७० वटा दाबी परेको छ । हिमालयन एभरेष्टमो २२२ वटा दाबीमा परेको छ ।
बढी दावी पर्ने यी तीन कम्पनीमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र टि ओरिएन्टले अहिलेसम्म कुनै दावीको भ्क्तानी गरेका छैनन् भने हिमालय एभरेष्ट इन्स्योरेन्सले २३ हजार ९४० रुपैयाँ भुक्तानी गरेको छ ।
कस–कसले गरे दावी भुक्तानी
हालसम्म बीमकहरुबाट ९७ वटा दाबीमा १७ करोड २८ लाख २८ हजार रुपैयाँ बढी भुक्तानी भएको छ । सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले मात्रै ८९ वटा दावीमा १७ करोड २४ लाख ७१ हजार रुपैयाँ बढी भुक्तानी गरेको छ ।
यसैगरी नेको ४ वटा दाबीमा ६६ हजार १३८ रुपैयाँ भुक्तानी गरेको छ। नेको इन्स्योरेन्समा २६३ दावी भुक्तानीका लागि ९६ करोड ८५ लाख ९ हजार रुपैयाँ दावी भुक्तानी माग भएको छ ।
आइजिआई प्रूडेन्सियल इस्योरेन्स कम्पनी लिमिटेडमा २७३ वटा दावीबाट ३१ करोड ५३ लाख माग भएकोमा १ वटाको सल्टाएर ३८ हजार ८ सय रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
सानिमा जिआईसीको १ सय ८९ वटा दावीबाट १७ करोड ७६ लाख माग भएकोमा १ वटाको सल्टाएर २ लाख १६ हजार भुक्तानी भएको छ ।
त्यस्तै गरि प्रभु इन्स्योरेन्स कम्पनीको २ सय १८ वटा दावी भई १० करोड २५ लाख रुपैयाँ माग भएकोमा एउटा सल्टाई ११ हजार ६ सय रुपैयाँ मात्रै भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।