दुर्घटना बीमा निर्देशिका, २०७८ जारी, अब बीमा शुल्क न्यूनतम २ रुपैयाँ

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी तथा त्यसका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ ।

यस निर्देशिका बमोजिम जारी गरिने बीमालेख व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख गरी दुई प्रकारका हुनेछन् । दुर्घटना बीमालेख १ वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने व्यवस्था रहेको छ ।

एक वर्षका लागि जारी गरिने बीमालेखको एक महिनासम्मका लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत, एक महिनादेखि तीन महिनासम्मका लागि वार्षिक बीमाशुल्कको ४० प्रतिशत, तीन महिनादेखि छ महिनासम्मका लािग वार्षिक बीमाशुल्कको ६० प्रतिशत र छ महिनादेखि एक वर्षसम्मका लागि शत्प्रतिशत बीमादर तोकिएको छ ।

व्यक्तिगत दुर्घटना बीमाका लागि न्यूनतम् प्रतिव्यक्ति प्रतिहजार दुई रुपियाँ बीमादर तोकिएको छ । सामूहिक दुर्घटना बीमातर्फ दुई जनादेखि २५ जनासम्मको समूहका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम् दुई रुपैयाँ, २६ जनादेखि एकसय जनासम्मका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपैयाँ ७५ पैसा र एकसयभन्दा बढीका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपैयाँ ५० पैसा बीमादर तोकिएको छ ।

यसैगरी, बीमाशुल्क गणना गर्दा प्रति बीमालेख एकसय रुैपयाँभन्दा कम बीमाशुल्क लिन नपाइने र बीमालेख जारी गर्दा बीमाशुल्क दर तथा बीमाशुल्क रकम प्रष्ट ढङ्गले खुलाइ गणना गर्नुपर्ने प्रावधान रहेको समितिका प्रवक्ता राजुरमण पौडेलले बताए ।

बीमकले यस निर्देशिका बमोजिम व्यक्ति वा व्यक्तिहरुको समूहका लागि मात्र बीमालेख जारी गर्न सक्ने र बीमा प्रस्ताव फारम, तालिका, सम्पुष्टी, बीमालेख तथा सोसँग संलग्न अनुसूचीलाई समग्र बीमा करारको रुपमा लिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

बीमालेखमा उल्लेख गरिएको बीमा अवधिभित्र दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमाङ्कको अतिरिक्त दुर्घटना बीमावापत बीमाङ्क रकम दुई लाख बीमकले बीमितलाई भुक्तानी गर्नुपर्ने व्यवस्था समेत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स