काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्स कम्पनीले कमाएको सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४६.०३ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सको समीक्षा अवधिमा खुद आर्जित बीमाशुल्क २७.५२ प्रतिशत रहेको छ भने कुल आम्दानी ३०.१८ प्रतिशत बढेको छ । इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३३.६२ प्रतिशत र कुल खर्च २८.२३ प्रतिशत बढेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ३७ पैसा बढेर ७ रुपैयाँ ९१ पैसा पुगेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५४.३४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा रहेको छ ।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ३४ करोड ६८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५६ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ ।