काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज प्रकाशित वित्तीय विवरणमा कम्पनीको नाफामा उछाल देखिएको छ । इन्स्योरेन्स कम्पनीको मुनाफा ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । सो नाफा गत आर्थिक वर्षको तुलनामा १६२.९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २३ करोड ७ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षकोे चैत तेस्रो त्रैमाससम्म कम्पनीको कुल बीमा शुल्क आर्जन २४.८ प्रतिशतले बढेर २ अर्ब १६ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको व्यवसाय १ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको यो अवधिमा कम्पनीकोे खुद बीमा शुल्क ६६ करोड ४३ लाख रुपैयाँबाट बढेर ८३ करोड ६४ लाख रुपैयाँ पुगेको हो । कम्पनीको व्यापार बढेपनि बीमा कोष भने १०.९ प्रतिशतले घटेको छ । सो कोष अहिले खस्किएर ३ अर्ब ७३ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब १८ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी १३.७४ रुपैयाँबाट बढेर ३२.३५ रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिमा बीमा पोलिसि १ लाख ५५ हजार ६१३ जारी गरेको छ ।