काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलानामा ७.९९ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ४७ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीले १२ अर्ब २ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको तुलानामा ८.४० प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ११ अर्ब ९ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ६ करोड ३६ लाख ,लगानी तथा कर्जा आम्दानी ४ अर्ब १२ करोड ६३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४८ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ६ लाख ५२ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी १६ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको ४ अर्ब ५६ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले गरेको दाबी भुक्तानी अघिल्लो आवको सोहि अवधिकाु तुलनामा ६।४८ प्रतिशतले धेरै हो ।
चैत मसान्तसम्म कम्पनीले १६ अर्ब २६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४१ करोड ६२ लाख र रिटेन्ड अर्निङ १ अर्ब ३२ करोड ९२ लाख रुपैयाँबराबर रहेको छ ।
कम्पनीको चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.१७ रुपैयाँबाट घटेर ७.२४ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.२५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९४९.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५४.६४ गुणा कायम भएको छ ।