प्राधिकरणको आगामी नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बीमा सम्बन्धी ११ बुँदे सुझाव, के के छन् ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेट्नको लागि बीमा सम्बन्धी ११ बुँदे सुझाव अर्थ मन्त्रालयमा पठाएको छ । प्राधिकरणले उक्त आवको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बीमा सम्बन्धी विषयहरुको सुझाव मन्त्रालमा पठाएको हो ।

यस्ता छन् प्राधिकरणले पठाएको सुझावहरुः

१. ग्रामिण क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्यून आए भएका नागरिकको बीमा गर्न लघु बीमकलाई नेपाल सरकारबाट अनुदान प्रदान गर्न प्राधिकरणले सुझाएको छ । साथै लघु बीमामा भ्याट छुट दिन समेत प्राधिकरणले सुझावमा उल्लेख गरेको छ ।

यसो भएको खण्डमा भ्याट छुट हुँदा सुलभ मूल्यमा नै बीमा गर्न पाइने हुने र यसले गर्दा बीमाको दायरा बढ्ने प्राधिकरणले परिकल्पना गरेको छ । यसैगरी लघु बीमामा अनुदान दिइँदा न्यून आए भएका व्यक्ति समेत बीमाको दायरामा आउने र गरिवी न्यूनिकरणमा टेवा पुग्ने प्राधिकरणले उल्लेख गरेको छ ।

कार्यन्वयन योजनाः

क. न्यून आय तथा सीमान्तकृत वर्गका जनतालाई बीमाको दायरामा ल्याई जीवन तथा सम्पत्तिमा हुने

ख. जोखिम विरूद्ध आर्थिक सुरक्षण प्रदान गर्न स्थानीय तहसंगको समन्वयमा लघुबीमा कम्पनीहरू मार्फत बीमा गर्ने व्यवस्था गरिनेछ ।

ग. लघु बीमक तथा स्थानीय सरकार मार्फत बिभिन्न लघुबीमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने,

घ. प्रचार प्रसार, बीमा साक्षरता, बीमा जनचेतना मुलक जस्ता कार्यक्रमहरू आयोजना गरिनेछ ।

 

२. नेपाल राज्यभर सरकारको स्वामित्वमा रहेको भौतिक सम्पत्ति र नागरिकको घर तथा अचल सम्पत्तिको प्राकृतिक प्रकोप तथा अन्य जोखिम विरुद्ध सुरक्षण प्रदान गर्न घर तथा सम्पत्ति बीमा अनिवार्य गर्ने व्यवस्था गर्न ।

कार्यन्वयन योजनाः

क. घर तथा सम्पत्तिको अनिवार्य बीमा गर्ने व्यवस्थाका लागि आवश्यकता अनुसार कानून निर्माण तथा संशोधन गर्ने,

ख. घर बीमा सम्बन्धमा नगरपालिका तथा स्थानीय तहहरूसंग समन्वय गर्ने

ग. घर तथा सम्पत्ति बीमाका लागि प्रचार प्रसार, जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने

घ. विपद् व्यवस्थापन लगायतका विषयमा अन्य निकायहरूसंग सहकार्य र समन्वय गर्ने

 

३. जलवायु परिवर्तनबाट हुने जोखिमलाई बीमा सेवासँग आवद्ध गर्ने । जसले गर्दा जलवायू परिवर्तनबाट हुने जोखिम विरुद्ध आर्थिक सुरक्षण हुने परिकल्पना प्राधिकरणले गरेको छ ।

कार्यन्वयन योजनाः

क. जलवायू परिवर्तनबाट उत्पन्न हुने जोखिमलाई बीमासेवासँग आवद्ध गर्न विभिन्न किसिममा मौसममा आधारित, सूचकांकमा आधारित बीमा योजनाहरू निर्माण गर्ने,

ख. जलवायू परिवर्तनबाट उत्पन्न हुने जोखिमको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाउने,

४. कोरोना बीमाको बाँकी रहेको दावी भुक्ताका लागि व्यवस्था गर्ने ।

कार्यन्वयन योजनाः

क. कोरोना बीमाको बाँकी रहेको दावी भुक्तानीका लागि नेपाल सरकारबाट बजेट विनियोजन गर्ने ।

५. भारत जाने नेपाली श्रमिकका लागि पनि म्यादि जीवन बीमा अनिवार्य गर्ने ।

कार्यन्वयन योजनाः

क. भारतमा जाने श्रमिकका लागि म्यादी जीवन बीमा अनिवार्य गर्न लक्षित वर्गको लागि आवश्यकता अनुसार कानून निर्माण तथा संशोधन गर्ने ।

६. उपभोक्ता समिति मार्फत नर्माण हुने संरचना तथा भौतिक सम्पत्तिको समेत अनिवार्य बीमा गर्नु पर्ने ।

कार्यन्वयन योजनाः

क. उपभोक्ता समिति मार्फत निर्माण हुने संरचना तथा भौतिक सम्पत्तिको बीमाको लागि आवश्यकता अनुसार कानून निर्माण तथा संशोधन गर्ने ।

७. न्यून आय भएका वर्ग र सीमान्तकृत समुदायलाई लघुबीमाको माध्यमबाट आर्थिक सूरक्षण प्रदान गर्न स्थानीय तह मार्फत लघुबीमा गराउने ।

कार्यन्वयन योजनाः

क. प्रत्येक स्थानीय तह मार्फत लघुबीमकसंगको सहकार्यमा लघुबीमा गर्ने व्यवस्था मिलाउने ।

ख. विभिन्न स्थानीय तहमा आवश्यक पर्ने तथा माग अनुसार बीमाका विभिन्न योजनाहरू तयार गरी लागू गर्ने ।

ग. प्रचार प्रसार, जनचेतना अभिबृद्धि, बीमा शिक्षा, अन्तरक्रिया कार्यक्रमहरू गर्ने ।

८. कृषि पशुपंन्छी तथा जरिबुटी बीमामा प्रदान गरिदै आएको अनुदान स्थानीय तह मार्फत भुक्तानी दिने व्यवस्था मिलाउने ।

कार्यन्वयन योजनाः

क. कृषि, पशुपन्छी तथा जडिबुटी बीमामा प्रदान गरिदै आएको अनुदानलाई सहि र वास्तविक किसानले प्राप्त गर्ने गरी स्थानीय तह मार्फत अनुदान भुक्तानीको व्यवस्था गर्ने ।

९. स्वस्थ्य बीमा बोर्डलाई सरकारी स्वामित्वको स्वास्थ्य बीमा कम्पनीमा रुपान्तरण गरि नेपाल बीमा प्राधिकरणको नियमनको दायरामा ल्याउने ।

कार्यन्वयन योजनाः

क. स्वास्थ्य बीमा बोर्डलाई सरकारी स्वामित्वको कम्पनीमा रूपान्तरण गर्ने

ख. सरकारी कम्पनीमा रूपान्तरण गरी बीमाको दायरामा ल्याउन नेपाल बीमा प्राधिकरणले नियमन गर्ने ।

१०. देशभर आन्तिरिक परिवाहनबाट ढुवानी हुने सामानको अनिवार्य बमिा गर्ने व्यवस्था मिलाइने ।

कार्यन्वयन योजनाः

क. आन्तरिक परिवहनबाट ढुवानी हुने मालबस्तुमा हुने जोखिमको लागि बीमालेख निर्माण तथा आवश्यकता अनुसार संशोधन गर्ने ।

११. साइबर घटनाबाट उत्पन्न हुने जोखिमको बीमाको माध्यमबाट सूरक्षण गर्ने ।

कार्यन्वयन योजनाः

क. साइबर घट्नाबाट उत्पन्न हुने जोखिम विरूद्ध बीमा सुरक्षणका लागि कानूनी ढाँचा निर्माण गर्ने,

ख. विभिन्न सरोकारवाला निकायहरूसँग साइबर जोखिम सुरक्षणका लागि छलफल, अन्तरक्रिया तथा समन्वय गर्ने,

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स