काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको चैत १३ गतेसम्म ८ वटा कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ । मर्जरमा गएका कम्पनी बाहेक नेपाल लाइफले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण प्राधिकरणमा पेश गरिसकेको छ भने साविकमै रहेर पनि नेशनल लाइफले गत आवको विवरण अहिलेसम्म नियामक निकायमा पेश गरेको छैन ।
नेशलन लाइफ इन्स्यारेन्सका एक्चुरीले छाडेका कारण नयाँ नियुक्ति गर्दा ढिला भएको कारणले नियामकमा वित्तीय विवरण बुझाउन ढिला भएको नेशनल लाइफ इन्स्योरन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश कुमार खत्रीले बताए । ‘नयाँ एक्चुरी नियुक्ति गर्न समय लाग्यो’, उनले भने ‘अब छिट्टै हामी हाम्रो वित्तीय विवरण पठाउँछौं । एक्चुरीले वित्तीय विवरण हेर्न थालेको पनि एक महिना जति भइसक्यो, उताबाट आउने वित्तिकै हामी प्राधिकरण पठाइ हाल्छौं । ठूलो कम्पनी भएकोले पनि समय लागेको होला ।’
चालु आवको फागुन मसान्तसम्म नेशलन लाइफले १५ लाख ९५ हजार ४५२ वटा बीमा पोलिसी जारी गरेर ११ अर्ब ५६ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ । कम्पनीको फागुन महिनाको व्यापारमात्रै ५० करोड २२ लाख रुपैयाँ रहेको छ ।
नेपालमा सञ्चालित जीवन बीमा कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स विजनेशका हिसाबले दोस्रो ठूलो कम्पनी हो भने बीमा प्राधिकरणमा वित्तीय विवरण बुझाएर पनि स्वीकृत नभएको नेपाल लाइफ नेपालकै बिजनेशमा ठूलो कम्पनी हो । कम्पनीले बुझाएको वित्तीय विवरण नियामकीयले हेरिहेको छ । नेपाल लाइफको भने ‘इन प्रोसेस’ मा रहेको प्राधिकरणले बताएको छ ।
नेपाल लाइफ नेपालकै ठूलो बीमा कम्पनी हो । चालु आवको फागुनमसान्तसम्म कम्पनी व्यापार २६ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने फागुन महिनामामात्रै नेपाल लाइफले ५६ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । मर्जरमा गएका कम्पनीले भने प्राधिकरणमा वित्तीय विवरण बुझाउन सकेका छैनन् । हिमालयन लाइफ इन्स्योरेन्स, सानिमा रिलाइन्स लाइफ र प्रभु लाइफले पनि प्राधिकरणमा वित्तीय विवरण बुझाउन सकेका छैनन् । एक्चुरी प्रोसेस नै अलि झण्झटिलो र फेरि पहिला साविक कम्पनीको वित्तीय विवरण तयार पारेर त्यसपछि ज्वाइन्टमा विवरण तयार पार्नुपर्ने भएकोले समय लागको प्राधिकरणको ठम्याइ छ ।
बीमा व्यवसायको बीमाङकीय मूल्यांकन गर्न त्यसै पनि समय लाग्छ । हामीसँग प्रर्याप्त म्यान पावर छैन । नेपाली बीमा कम्पनीले तयार पारेको वित्तीय विवरण भारत लगायतका देशका एक्चुरीले मूल्यांकन गरेपछि मात्रै कम्पनीहरूले प्राधिकरणमा स्वीकृतको लागि वित्तीय विवरण पठाउने हुन् । प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीहरू एक आपसमा मर्ज भएर बनेको हिमालयन लाइफले पनि वित्तीय पेश गर्न सकेको छैन ।
त्यस्तै महालक्ष्मी लाइफ र प्रभु लाइफ मर्ज भएर बनेको प्रभु महालक्ष्मी लाइफले पनि वित्तीय विवरण पेश गर्न सकेको छैन भने सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स मिलेर बनेको सानिमा रिलाइन्स लाइफले पनि अहिलेसम्म वित्तीय विवरण पेश गर्न सकेको छैन । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको झन कुरै गर्न परेन । कम्पनीको ७÷८ वर्षको अडिट नै हुन बाँकी छ ।
देशमा सञ्चालित १४ जीवन बीमा कम्पनीमध्ये ८ वटाको भने प्राधिकरणले वित्तीय विवरण नै स्वीकृत गरिसकेको छ । सूर्यज्योति लाइफ, नेपाल लाइफ इन्स्यारेन्स, एशियन लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्सको भने वित्तीय विवरण प्राधिकरणले स्वीकृत दिइसकेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
कम्पनी नियम अनुसार चालु आवको दोस्रो त्रैमाससम्म कुनै पनि कम्पनीले साधारणसभा गरिसक्नु पर्ने हुन्छ । साधारणसभा गर्नको लागि चाहिने अडिट रिपोर्ट तयार पार्न ढिला हुँदा प्राय जीवन बीमा कम्पनीहरूले कहिले पनि कम्पनी ऐनको कान्ुनको परिधिमा रहेर साधारणसभा गर्न सकेको पाइदैन ।
यसको मूल समस्या भनेको देशमा एक्चुरी नहुनु हो । विदेशबाट एक्चुरी भ्यालुएशन भएर आउन समय लाग्ने भएकोले जीवन बीमा कम्पनीको साधारणसभा जहिले पनि ढिला हुने गरेको हो ।