काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
समीक्षा अवधिमा कम्पनीले २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलानामा ६४.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १४ करोड ५२ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
साथै, कम्पनीले ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत वर्षको तुलनामा ५९.७२ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले २ अर्ब ६८ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ७६ करोड ७० लाख रुपैयाँमा सीमित थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी ११ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
कम्पनीको कुल खर्च ५ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च ३ अर्ब ३० करोड ४५ लाख रुपैयाँ थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो आवको तुलनामा २६.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषको आकार २४ अर्ब ९ करोड रुपैयाँबराबरको थियो ।
समीक्षा अवधिसम्म कम्पनीले प्रथम बीमाशुल्क मार्फत ९५ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १०.४१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६५.१५ रुपैयाँ,पिई अनुपात ५१.५७ गु्णा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८८५.२३ रुपैयाँ कायम भएको छ ।