काठमार्डौ । निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले सबैभन्दा बढी व्यापार बागमती प्रदेशमा गरेका छन् । निर्जीवन बीमा व्यवसायमा बागमती प्रदेशको व्यवसाय सबैभन्दा बढी देखिएको छ । निर्जीवन बीमा कम्पनीले चालु आवको ५ महिनाको अवधिमा आर्जन गरेको बीमा शुल्कमध्ये ६५.१९ प्रतिशत हिस्सा बागमती प्रदेशको रहेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।
चालु आवको साउनदेखि मंसिरसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार बीमक कम्पनीहरूले आर्थिक वर्षको पहिलो पाँच महिनामा ११ लाख ७२ हजार ४४७ वटा बीमा पोलिसी जारी गरेर पौने १६ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ । सो व्यापारमध्ये बागमती प्रदेशको हिस्सा करिब २ तिहाइ हो ।
बीमकहरूले ५ लाख ३० हजार ७३३ वटा बीमा पोलिसी जारी गरेर १० अर्ब २६ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो । समीक्षा अवधिमा कम बीमा व्यवसाय कर्णालीमा भएको देखिन्छ । उक्त प्रदेशमा १८ हजार ३९७ वटा बीमा पोलिसी जारी गरेर १५ करोड ६ लाख रुपैयाँ प्रिमियम संकलन सार्वजनिक भएको तथ्याङकमा छ ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा निर्जीवन बीमकहरू कम्पनीहरूले सातै प्रदेशबाट सम्पत्तिको बीमा, सामून्द्रिक बीमा, हवाई, मोटर, इन्जिनियरिङ तथा ठे.जो., विविध, कृषि तथा बाली बीमा, लघु बीमा लगायतमा बीमा व्यवसाय गरेका हुन् ।
मंसिर महिनामा निर्जीवन बीमा कम्पनीहरूले कोशी प्रदेशमा १ लाख ४४ हजार २६८ वटा बीमा पोलिसी जारी गरेर १ अर्ब ४० करोड ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी मधेश प्रदेशमा १ अर्ब ८ करोड ४७ लाख, गण्डकीमा ९१ करोड ४९ लाख, लुम्बिनीमा १ अर्ब ५० करोड ४१ लाख र सुदुरपश्चिममा ४१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ ।