काठमाडौं । गत आवमा मर्जरमा गएका बीमा कम्पनीहरूको व्यवसायमा सिनर्जी देखिन थालेको छ । १२ कम्पनी एक आपसमा गाभिएर बनेका ६कम्पनीको व्यवसाय अन्य ९ कम्पनीको भन्दा बढी देखिएको छ । कुल निर्जीवन बीमा बजारमा मर्जरमा गएका कम्पनीहरूको व्यवसायिक हिस्सा करिब ५३ प्रतिशत रहेको छ ।
६ निर्जीवन बीमा कम्पनीहरुले कार्तिक महिनासम्म ६ अर्ब ७५ करोड १६ लाख ५५ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको पुँजी वृद्धि योजना ल्याएपछि पुँजी पुर्याउन नसक्ने कम्पनीहरू मर्जर गएका थिए ।
प्राधिकरणको पुँजी वृद्धि योजनामा सबैभन्दा पहिला हिमालयन जनरल इन्स्यारेन्स र एभरेष्ट इन्स्योरेन्स २०७९ साउन १ गते यी दुई कम्पनी मिलेर बनेको हिमालयन एभरेष्ट कम्पनीले एकीकृत कारोबार गरेका थिए । त्यस्तै गरेर मर्जरमा गएका कम्पनीहरूमा सानिमा र जनरल इन्स्योरेन्सले २०७९ कार्तिक ७ गते लक्ष्मी पूजाको दिन एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।
प्रिमियर र सिद्धार्थ इन्स्यारेन्स २०७९ फागनु १७, सगरमाथा र लुम्बिनी इन्स्योरेन्स सो वर्षको फागुन २९ मा, आईएमई जनरल र प्रूडेन्सियल २०८० वैशाख २७ र युनाइटेड र अडोज २०८० जेठ १४ एकीकृत कारोबार गरेका थिए ।
मर्जरमा गएका यी कम्पनीहरूको व्यवसाय अहिले कुल व्यवसायको आधाभन्दा बढी हिस्सा रहेको छ । मर्जरमा गएका यी कम्पनीहरूले कार्तिक महिनामा मात्रै १ अर्ब २५ करोड ७२ लाख २५ हजार रुपैयाँ व्यवसाय गरेका छन् । मर्जरमा गएका कम्पनीहरूले कार्तिक महिनामात्रै कसल बीमा व्यवसायको करिब ५५ प्रतिशत हिस्सा आगटेको छ ।
हाल देशमा १५ वटा निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । मर्जरमा गएका ६ कम्पनीले गरेको व्यवसाय मर्जर नगएका ९ वटा कम्पनीको भन्दा बढी हो । जीवन बीमामा मर्जर गएर पनि त्यति सिनर्जी नदेखिएपनि मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय राम्रो नै देखिएको छ ।
निर्जीजन बीमा कम्पनीहरू मध्ये सबै भन्दा बढी बीमा शुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले कार्तिक महिनासम्म ९६ हजार २३३ वाट पोलिसी जारी गरेर १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
मर्जरमा गएका कम्पनीहरूमध्ये उक्त कम्पनीले गरेको व्यवसाय २३.७७ प्रतिशत हो । सगरमाथा लुम्बिनीले कार्तिक महिनामा मात्रै २८ करोड ७६ लाख ७९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको होे ।
त्यस्तै मर्जरमा गएका कम्पनीमध्ये सानिमा जीआईसी इन्स्योरेन्सले सबै भन्दा कम ७१ करोड ६७ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको छ । ४८ हजार ३२९ वाट बीमा पोलिसी जारी गरेर उक्त कम्पनीले कार्तिक महिनामा मात्रै ११ करोड ७३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।
हिमालयन एभरेष्ट र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सबीच प्रतिस्पर्धा भएको छ । निर्जीवन बीमा व्यवसाय गर्ने सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले १ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ कुल प्रिमियम संकलन गर्न सफल भएका छ् ।
आईजीआई प्रूडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसायबाट १ अर्ब ९ करोड ३७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीले कार्तिक महिनामा मात्रै २ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । युनाइटेड अजोड इन्स्योरेन्सले पनि ८६ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीले कार्तिक महिनामा मात्रै १ करोड ६६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।