एलआईसीलाई बीमा प्राधिकरणले सोध्यो स्पष्टिकरण, हकप्रद रोक्ने चेतावनी, इन्साइडर गरेको आशंका

काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको हकप्रद सेयर रोक्ने चेतावनी दिएको छ । प्राधिकरणबाट हकप्रद स्वीकृति लिएको ६ महिनासम्म कम्पनीले हकप्रद निष्काशन नगरेपछि प्राधिकरणले कम्पनीलाई स्पष्टिकरण सोध्नुका साथै हकप्रद सेयर रोक्ने चेतावनी दिएको हो ।

हकप्रद जारी गर्ने स्वीकृत पाएर पनि लामो समयसम्म प्रक्रिया टुंगोमा नपुर्याई आलटाल गर्नु भनेको सेयर बजारमा इन्साइडर गरेको हुन सक्ने आशंका अनुमान गर्न थालिएको छ । कम्पनीले हकप्रद जारी गर्ने हल्लाले घट्दो बजारमा पनि सेयर मूल्य १८ सय रुपैयाँ सम्म पुगेको देखिन्छ । जुन अहिले १४ सय रुपैयाँ वरिपरि गुमेको छ । बीमा प्राधिकरणले तोकेको पुँजी पुर्याउन कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

हकप्रद सेयर जारी गर्ने एलआईसी नेपालले ६ महिना अगाडी नै प्राधिकरणबाट अनुमति प्राप्त गरेको प्राधिकरणले बताएको छ । मंसिर १५ गते शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एलआईसी नेपाललाई हकप्रद सेयर रोक्ने चेतावनीसहित ३ दिने स्पष्टिकरण सोधेको हो ।

हकप्रद सेयर जारी गर्ने अनुमति पाएको ६ महिनासम्म पनि जारी नगरेको भन्दै प्राधिकरणले अनुमति किन फिर्ता नलिने भन्दै स्पष्टिकरण सोधेको हो । एलआईसी नेपालले २०७९ पुस ८ गतेको बैठकले चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेर बीमा समितिले तोकेको पुँजी कायम गर्ने निर्णय गरेको थियो ।

कम्पनीको २०७९ माघ ३ गतेको विशेष साधारण सभाले हकप्रद सेयर जारी गर्ने निर्णय पनि पास गरिसकेको छ । कम्पनीलाई बीमा प्राधिकरणले २०८० असार १५ गते हकप्रद सेयर जारी गर्ने स्वीकृति प्रदान गरेको थियो ।
हकप्रद निष्काशन सम्बन्धी व्यवस्था साधारण सभाबाट पास भएपछि बीमा प्राधिकरणबाट असार १५ गते नै स्वीकृत पाएको कम्पनीले साढे ३ महिनापछि अर्थात २०८० असोज २९ गते मात्रै नेपाल धितोपत्र बोर्डमा अनुमातिका लागि आवेदन दिएको थियो ।

आफ्नै साधारण सभाबाट पास गरेको र बीमा प्राधिकरणबाट समेत स्वीकृत पाइसकेको अवस्थामा पनि साढे तीन महिनापछि मात्रै धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिनु कम्पनीको नियत खराब भएको आरोप छ । धितोपत्र बोर्डमा असोज २९ गते आवेदन दिएको कम्पनीले त्यसपछि स्वीकृतिका लागि कुनै पहल गरेको छैन् ।

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । सो पुँजीको ८८.४५१६८ प्रतिशतले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम(एलआईसी)को ५५ प्रतिशत, विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स