काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले मंसिर ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
यसअनुसार कम्पनीले यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको हो ।
यसपछि सर्वसाधारणमा आईपीओ खुला हुनेछ । यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।