काठमाडौं । नेपाल बीमा प्राधिकरणले पर्सि बुधबार बीमा व्यवसायको अवस्था र यसमा देखिएको समस्याको विषयमा वास्तविकता बुझ्न कार्यक्रम गर्ने भएको छ । मर्जरमा गएका कम्पनीहरूको प्रस्तुतीसहित प्राधिकरणले उक्त कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रमका बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको वर्तमान बीमाको अवस्थाका वारेमा जानकारी सहितको प्रस्तुती पछि मर्जरमा गएका कम्पनीहरूले आ–आफ्नो प्रस्तुती राख्न पालो दिइने छ । उनीहरूले २० मिनेटमा कम्पनीको अवस्था, मर्जरपछि कर्मचारी व्यवस्थासहित शाखा मिलासम्मको अवस्थाका साथै कम्पनीको समग्र अवस्थाको वारे प्रस्तुतीमार्फत जानकारी दिनेछन् ।
पछिल्लो समय मर्जरमा गएका कम्पनीमा बढी समस्या देखिएपछि प्राधिकरणले बीमक कम्पनीलाई नैं बोलाएर त्यो पनि २० /२० मिनेट टाइम दिएर कार्यक्रम गर्न लागेको हो ।
बीमा प्राधिकरणले अघिल्लो आवको चैतमा बीमा कम्पनीलाई पुँजी वृद्धिको योजना ल्यायो । पुँजी वृद्धि गर्ने समय गत चैतमसान्तसम्म तोक्यो । त्यो समय सीमाभित्रमा बीमा कम्पनीले पुँजी पुर्याउन नसकेपछि गत असारमसान्तसम्मलाई समय थप गरिएको थियो ।
प्राधिकरणले अघिल्लो चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।
यद्यपि सो थप गरिएको समय सीमा पनि बीमा कम्पनीले पुँजी पुर्याउन सकेका छैनन् । पुँजी नपुर्याउने कम्पनीलाई प्राधिकरणले कारवाही गर्ने भने पनि अहिलेसम्म कारवाहीको कुनै प्रक्रिया अघि बढाएको छैन ।
प्राधिकरणको पुँजी वृद्धि योजना पछि मर्जरमा गएका तर मर्जर गएर पनि पुँजी नपुर्याएका कम्पनीहरूको हकमा मर्जरपश्चात २०/२५ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्ने सुविधा दिने बताइएको थियो । तर, अहिलेसम्म सो प्रक्रिया समेत अघि बढेको छैन । मर्जरमा गएका कुनै पनि कम्पनीले हकप्रदको लागि प्राधिकरणमा आवेदन दिएका छैनन् ।
अहिलेसम्म जीवन र निर्जीवन गरी २१ वटा कम्पनी मर्जरमा गएर १० वटा कम्पनी बनेको छ । मर्जरमा गएका कम्पनीमध्ये ९ वटा जीवन बीमा कम्पनी मिलेर ४ वटा कम्पनी बनेको छ भने १२ वटा निर्जीवन बीमा कम्पनी मिलेर ६ वटा कम्पनी बनेको छ ।
अहिलेसम्म नेपाल लाइफ, हिमालयन लाइफ, नेशलन लाइफ इन्स्यारेन्सले पुँजी पुर्याएका छन् भने अन्य कम्पनीको पुँजी पुग्न सकेको छैन । निर्जीवन कम्पनीको हालत त्यो भन्दा पनि नाजुक छ । उनीहरूले पनि प्राधिकरणको योजना अनुसार पुँजी पुर्याउन सकेका छैनन् ।
हाल देशमा जीवन र निर्जीवन १४÷१४ कम्पनी, ४ वटा माइक्रो इन्स्यारेन्स, दुई रि–इन्स्योरेन्स गरी जम्मा ३४ बीमा कम्पनी सञ्चालनमा छन् ।