काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवारले अटो बीमाको ५० हजार रुपैयाँसम्मको दावी भुक्तानी क्लेम गरेकै दिन पाइने बताएका छन् । सरल र सहज बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ आजबाट शुभारम्भ भएको ‘एसपीआईएल डिआईजीआई’ एप्लिकेशन लन्चिङ कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
‘मोटरसाइकल र कारको ५० हजारसम्मको दावी भुक्तानी अनलाइनबाटै गर्न सकिन्छ,’ उनले भने ‘बिहान ११ बजे कुनै घट्ना घटेर क्लेमको लागि दावी पर्यो भने त्यहि दिन करिब ४÷साढे ४ घण्टामा परेको दावीको भुक्तानी भइसक्छ । यसमा सर्भेयरको रिपोर्ट नकुरी सवारी साधनको अवस्था हेरेर दावी भुक्तानी गर्ने हो ।’
साउन दोस्रो साताबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले यो सेवा सुरु गरेको हो । कुनै दिन त दैनिक २० वटासम्म पनि दावी भुक्तानी भएको बैदवारले बताए । ‘यो अवधिमा सो प्रविधिमार्फत २२० वटा दावी भुक्तानीका क्लेम परेको र १२८ वटा क्लेमको दावीको सेटलमेन्ट भइसकेको छ,’ उनले भने ‘२५ लाख ७६ हजारको दावी भुक्तान भएको हो । हामीले सानो सानो दावी बीमा फछ्र्यौट प्रक्रियाको लागि ‘स्पील डीजी (‘एसपीआईएल डिआईजीआई)’ प्रयोगमा ल्याएका हौं ।’
अहिले अटोको दावी भुक्तानी यो प्रविधिमार्फत हुन्छ, अबको केहि समयमानै अग्नी बीमाको लागि पनि यस्तै सेवा विस्तार गर्नेछौं ।’
एसपीआईएल डिआईजीआई डिजिटल प्रणाली भएको हुँदा बीमाले खरिद गर्न तथा ५० हजारसम्मको दावी भुक्तानीका लागि भौतिक रुपमा उपस्थिति नभइ गर्न सकिनेछ । यसका साथै बीमितले निश्चित सो रकमसम्मको बीमा दावी फर्छयौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको वारेमा जानकारी समेत लिन सकिने छ । यसवाट समय र लागत घट्नुका साथै विना झन्झट बीमा सेवा उपलब्ध हुने कम्पनीको दावी छ ।