कर्णालीका एक सय ८१ जनाका परिवारले सामूहिक जोखिम दुर्घटना बीमाबाट करिब साढे तीन करोड रकम प्राप्त

भेरीगंगा (सुर्खेत) । प्राकृतिक प्रकोपका विभिन्न घटनामा परी मृत्यु भएका कर्णालीका एक सय ८१ जनाका परिवारले सामूहिक जोखिम दुर्घटना बीमाबाट करिब साढे तीन करोड रकम प्राप्त गरेका छन् ।

तीन वर्षको अवधिमा विभिन्न प्राकृतिक प्रकोपका घटनामा परी मृत्यु भएका एक सय ८१ जनाका परिवारले कर्णाली सरकारले गरिदिएको सामूहिक जोखिम दुर्घटना बीमाबाट तीन करोड ६२ लाख रकम प्राप्त गरेका हुन् ।

प्रकोपबाट मृत्यु भएका प्रतिपरिवारले रु दुई लाखका दरले रकम पाएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले २०७६ सालमा प्रदेशका सबै नागरिकको सामूहिक दुर्घटना जोखिम बीमा गरिदिएको थियो ।

राष्ट्रिय बीमा कम्पनीसँगको सम्झौताअनुसार कर्णालीका करिब १७ लाख व्यक्तिको सामूहिक बीमा सरकारले गरिदिएको छ । एक व्यक्ति बराबर नौ पर्नेगरी सरकारले नै नागरिकको बीमा गरिदिएको हो ।

प्रदेशका कुनै पनि नागरिकको प्रकोप या प्राकृतिक विपद्बाट निम्तिने दुर्घटनाले मृत्यु भएमा दुई लाख पाउने र उक्त रकम राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराउने गरेको आन्तरिक मामिला मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए ।

उनका अनुसार आव २०७७/७८ मा विभिन्न प्राकृतिक प्रकोपमा परी मृत्यु भएका ५९ जनाका परिवारले बीमा रकम पाएका छन् भने आव २०७८/७९ मा ५८ जनाका परिवारले बीमा रकम पाएका छन् । त्यसैगरी आव २०७९/८० मा ६४ जनाका परिवारलाई सामूहिक दुर्घटना बीमाबाट रकम दिइएको रोकायले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स