काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म ७ लाख ६२ हजार बढीको आवेदन परेको छ । बुधबार साँझ ५ः११ बजेसम्ममा ७ लाख ६२ हजार ५७३ आवेदकबाट २ अर्ब ३८ करोड ४३ लाख ६३ हजार ७८० रुपैयाँ बराबरको ९२ लाख ७७ हजार ६८० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
जुन सर्वसाधारणलाई निष्काशन गरेको ९६ लाख कित्ता सेयरको ९६.६४ प्रतिशत मात्रै हो ।
कम्पनीले साउन २३ गतेदेखि सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा सेयर निष्काशन गरेको हो। यस निष्काशनमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।
यो आईपीओको निष्काशन बन्द छिटोमा साउन २६ गते र ढिलोमा भदौ ५ गते बैंकिङ समयपछि हुनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
कम्पनीले असार २७ देखि साउन १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।