औपचारिक रुपमा सञ्चालनमै नआई हिमालय रि इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आफू औपचारिक रुपमा सञ्चालनमै नआई साधारणसभा डाकेको छ । विवादैविवादकाबीच सञ्चालन अनुमति पाएको कम्पनीले कम्पनीले १२ कात्र्तिकमा पहिलो वार्षिक साधारणसभा (एजीएम) डाकेको छ । कम्पनीको सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा साँझ ५ बजे आयोजना गर्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीले पहिलो वार्षिक साधारणसभामो आईपीओ जारी गर्ने विशेष प्रस्ताव समेत पेश गर्नेछ । कम्पनी ऐनअनुसार चुक्तापुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

१० अर्ब चुक्तापुँजी भएको ‘रि’ले ३ अर्ब रूपैयाँ आईपीओमार्फत् लगानी जुटाउने छ । सो पुँजी जुटाउन कम्पनीले ३ करोड कित्ता सेयर १०÷१० कित्ताका दरले ३० लाख जनाले पाउनेछन् ।

उक्त सभामा चालु आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुनेछ । यसका साथै लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतको एजेन्डा छ । हिमालयन रिइन्स्योरेन्स औपचारिक रूपमा सञ्चालनमा आउनै बाँकी भए पनि आईपीओ जारी गर्ने प्रस्ताव अघि सारिएको हो ।

कम्पनी रजिस्ट्रारको कार्यालयबाट हिमालयन रि–इन्स्योरेन्सले साउन १० गते कारोबार स्वीकृति, सेयर तथा सञ्चालक लगत अभिलेख गरेको पत्र कम्पनीलाई पठाएको थियो । कम्पनीले बीमा समितिबाट असार २४ गते नै कारोबारको अन्तिम स्विकृति पाइसकेको छ ।

हिमालयनले गत जेठ १६ गते पुनर्बीमा व्यवसाय सञ्चालन गर्ने आशयपत्र पाएको थियो । १० अर्ब पुँजीको हिमालयन रिले संस्थापकका तर्फबाट ७ अर्ब लगानी गर्ने योजना बनाएको छ ।

उक्त कम्पनीका लगानीकर्तामा निजी क्षेत्रको छाता संगठनका नेताहरूको बाहुल्यता छ । १०६ जना संस्थापक लगानीकर्ता रहेको हिमालयन रिमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ५०/५० करोड रुपैयाँ लगानी गरेका छन् । त्यसबाहेक अध्यक्ष शेखर गोल्छा, महासंघकै निवर्तमान अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, जगदम्बा ग्रुप, एमभी दुगड ग्रुप, दिपक भट्ट लगायतको लगानी छ ।

हिमालयन रिले काठमाडौं रि, अन्नपूर्ण रि, जेन्युइन रि, प्रुडेन्सियल रिलाई पछि पार्दै बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति पाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स