तपाईले बीमा गरेको कम्पनीले यति दिँदै छ बोनस

काठमाडौं । बोनसदर सार्वजनिक गरेका जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा अगाडि विदेशी कम्पनी अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी मेटलाइफ रहेको छ । चालु आर्थिक वर्षको यो अवधिसम्म जम्मा ५ वटा जीवन बीमा कम्पनीलेमात्रै गत आर्थिक वर्षको कमाइबाट बोनसदर सार्वजनकि गरेका छन् ।

नयाँ बोनसदर सार्वजनिक गर्ने कम्पनीहरूमा मेटलाइफ, प्राइम, महालक्ष्मी, ज्योति, रिलायन्स इन्स्योरेन्स रहेका छन् । जसमध्ये मेटलाइफले सबैभन्दा बढी र प्राइम लाइफले सबैभन्दा कम बोनसदर घोषणा गरेका छन् ।

बीमा कम्पनीहरूले बोनस दर आफूले आर्जन गरेको कुल बीमांक रकममा निर्भर रहने गर्छ । बोनस वितरण गर्दा मृत्यु दर, बीमा कम्पनीको खर्च र भविष्यमा तिर्नु पर्ने ब्याज जस्ता सम्पूर्ण दायितव कटाएर वितरण गर्ने गरिन्छ । कम्पनीले प्राप्त गर्ने सबै पुँजी स्रोतमा तिर्नु पर्ने सम्पूर्ण दायित्व घटाएर बाँकी रहेको रकमलाई नै बोनसको रुपमा वितरण गरिन्छ ।

बीमा कम्पनीले वर्षभरिमा संकलन गरेको बीमांक रकमको प्रतिहजारको दरमा बोनस घोषणा गर्ने गर्छन् । केही बीमा कम्पनीहरुले यो रकम बीमा अवधिमै वितरण गर्छन भने कतिपयले बीमा अवधिको समाप्ति पश्चात पनि प्रदान गर्छन् । बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ ।

जीवन बीमा कम्पनीले कुन योजनामा कति दिँदै छन् बोनस ?

महालक्ष्मी

महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रतिहजार बीमांकमा वार्षिक न्यूनतम ४० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनस दर वितरण गर्ने भएको छ ।

कम्पनीले ल्याएको बीमा योजनामध्ये महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा सबैभन्दा कम अर्थात ४० प्रतिशत बोनसदर तोकेको छ । त्यस्तै, २६ देखि ३० वर्ष अवधिको महालक्ष्मी सावधिक जीवन बीमा योजनाका बीमितले सबैभन्दा बढी अर्थात प्रतिहजार बीमांकमा ५२ रुपैयाँसम्म बोनस पाउने छन् ।

महालक्ष्मी सावधिक जीवन बीमामा प्रतिहजार बीमांकमा बीमितले न्यूनतम ५० देखि ५२ रुपैयाँसम्म बोनस पाउनेछन् । जसमा ५ देखि १५ वर्ष अवधिकोमा ५० रुपैयाँ, १६ देखि २५ वर्षकोमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखमा ५२ रुपैयाँ बोनसदर तोकिएको कम्पनीले जनाएको छ ।

महालक्ष्मीले सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनाका लागि न्यूनतम ५० र अधिकतम ५१ रुपैयाँ बोनसदर तोकेको छ । यी दुबै बीमालेखका लागि ५ देखि १५ वर्षसम्म अवधिको ५० रुपैयाँ र १६ देखि २५ वर्ष अवधिकोमा ५१ रुपैयाँ बोनस पाइने छ । महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा सम्पूर्ण अवधिको लागि ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमाका पनि सबै अवधिको लागि ५० रुपैयाँ बोनसदर तोकिएको कम्पनीले जानकारी गराएको छ ।

मेटलाइफ

अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले गत आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सबै जीवन बीमालेखमा प्रतिवर्ष प्रतिहजार न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर दिने रिपार्ट सार्वजनिक गरेको छ । कम्पनीले उक्त बोनसदर १७ जुलाई २०१९ देखि १५ जुलाई २०२० सम्मको बीमाङ्कीय मूल्यांकन अनुसार निर्धारण गरेकोे हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार सार्वाधिक जीवन बीमा गर्ने बीमकले प्रतिहजार ६० देखि ८० रुपैयाँसम्म बोनसदर पाउने भएका छन् । कम्पनीको यो लेखमा १ देखि १५ वर्षसम्म अवधिको प्रतिहजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वा सो भन्दा माथिको बीमालेखमा प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ ।

त्यस्तै, शिक्षा संरक्षण बीमाका लागि १ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वा सोभन्दा माथिको बीमालेखका लागि ८० रुपैयाँ बोनसदर दिने तय गरेको छ ।

अग्रिम भुक्तानी सावधिक नामको बीमालेखमा पनि बीमितले न्यूनतम ४५ देखि अधिकतम ६५ रुपैयाँसम्म पाउने छन् । उक्त बीमालेखमा १ देखि १५ वर्ष अवधिको ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ५५ रुपैयाँ र २१ वा सो भन्दा माथिको लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।
साथै यो बोनसदर मृत्यु दावी, समर्पण मूल्य दावी, चुक्ता मूल्य दावी, अवधि भुक्तानी दावी र चालू बीमालेखहरुमा लागू हुनेछ ।

रिलायन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले पनि विभिन्न योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सावधिक बीमा योजनामा न्यूनतम ३० देखि ६० रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा ३० देखि ६० रुपैयाँ, अग्रिम भुक्तानी सावधिकमा ४१ रुपैयाँदेखि ४५ रुपैयाँ बोनस निर्धारण गरिएको छ ।

वार्षिक अग्रिम भुक्तानी मुद्दती नियमित शुल्क बीमा योजनाका सबै अवधिमा २४ रुपैयाँ र एकल बीमाशुल्क ५४ रुपैयाँ तथा सामूहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ बोनस बीमितलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
प्राइम

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट असोज ६ गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने तय गरेको छ ।

कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने छन् । कम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्यूनतम ३६ रुपैयाँ देखि ७५ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

यस्तै प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर तोकिएको छ ।

ज्योति

ज्योति लाइफ इन्स्योरेन्सले २०७६ असार मसान्तसम्ममा जारी भएका नाफामा सारिक हुने बीमालेखहरुमा प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनस दर तोकेको छ ।

त्यस्तै, सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकेको छ ।

साथै, अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स