आइएमई लाइफको आईपीओ बाँडफाँट हुने मिति तय, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले कम्पनीको आईपीओ असार ३० गते शनिबार बिहान ११ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीले असार २१ गतेदेखि आज असार २५ गतेसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्काशन गरेको हो ।

इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

निष्काशन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख ९० हजार ७४१ जना आवेदकबाट ३ अर्ब ७४ करोड १ लाख ३३ हजार ७०६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ८७ हजार १५० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको कुल ९६ लाख कित्ता सेयरको १.६४ गुणा बढी हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ । जसअनुसार ९ लाख ६० हजार जनाले मात्रै सेयर पाउनेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमामा सिभिल क्यापिटल रहेको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स