काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साउन १ गतेदेखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री खुला गर्नेछ ।
यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेन्ट रहेको छ ।
श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपीओ बाँडफाँट गरिएपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ ।