प्राधिकरणले दियो एनएलजी इन्स्योरेन्सलाई ६६ प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति, चुक्ता पुँजी २ अर्ब ४० करोड पुग्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्सलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ । प्राधिकरणले कम्पनीलाई ६६ प्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । प्राधिकरणले तोकिएको पुँजी वृद्धि गर्नको लागि इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो ।

एनएलजी इन्स्योरेन्समा नेशनल लाइफ इन्स्योरेन्सको ५० प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै सिद्धेश्वर कुमार सिंहको २.५५ प्रतिशत, रण बहादुर शाहको १.३८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २ प्रतिशत , तथा तेजश्वी राजेश्वरी राणाको १.१२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ छ । प्राधिकरणले दिएको स्वीकृति अनुसार अर्थात ६६ प्रतिशत हकप्रद जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । बाँकी अपुग पुँजी भने बोनस सेयर मार्फत पुर्याउने कम्पनीको योजना छ ।

प्राधिकरणको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्छ ।

निर्जीवन बीमा व्यवसाय गर्दै आएको एनएलजी इन्स्योरेन्स नेशनल लाइफ इन्स्योरेन्सको सब्सिडायरी कम्पनी हो र कम्पनीको हालको सेयर संरचना साविकको बीमा समितिको ऐन तथा निर्देशन अनुसार नै भइरहेको छ । त्यसैले पनि प्राधिकरणले एनएलजीलाई हकप्रद सेयर मार्फत पुँजी बढाउनको लागि बाटो खुला गरिदिएको हो ।

प्राधिकरणले हालसम्म कुनै पनि कम्पनीलाई पुँजी बढाउनको लागि हकप्रद सेयर जारी गर्न अनुमति दिएको थिएन । हकप्रदमार्फत पुँजी बढाउन पाउने एनएलजी इन्स्योरेन्स नै पहिलो कम्पनी भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स