काठमाडौं । बीमा प्राधिकरणले दाबी फर्छ्यौट सहज बनाउन र बीमा प्रतिको विश्वास बढाउनका लागि दाबी फर्छ्यौटको अख्तियारी शाखा र प्रादेशिक कार्यालयलाई समेत प्रत्यायोजन गर्न निर्देशन दिएको छ । प्राधिकरणले साउनदेखि लागू हुने गरी अनिवार्य रुपमा शाखालाई अधिकार प्रत्यायोजन गर्न निर्देशन दिएको हो ।
प्राधिकरण्का अध्यक्ष सूर्यप्रसाद सिलवालले एक कार्यक्रममा शाखा कार्यालयबाटै दाबी भुक्तानीको व्यवस्था मिलाउन बीमा कम्पनीहरूलाई निर्देशन समेत दिएका थिए ।
बीमा कम्पनीहरुले साना बीमा दाबी भुक्तानीका लागि न्यूनतम कति कागजात चाहिन्छ, त्यसको यकिन गरी छिटो दाबी भुक्तानी दिनुपर्ने र त्यसका बारेमा सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने विषय उक्त पत्रमा उल्लेख रहेको छ।
बीमितले विश्वास गरेजस्तै कम्पनीले पनि बीमितलाई विश्वास गर्नुपर्छ । दाबी भुक्तानी छिटो दिएर बीमाप्रतिको अविश्वासलाई विस्तारै विश्वासमा बदल्नु पर्ने प्राधिकरणले जनाएको छ ।