काठमाडौं । आफ्नो नाम जस्तै कोमल, मृदुभाषी सुलक्षणा दैनिक जीवन बीमाको जोखिम वहन गर्ने वा नगर्ने निर्णय गर्छिन् । मुलुकभरका शाखा उपशाखा कार्यालयबाट जारी हुने जीवन बीमाको जोखिमांकन (अण्डरराईटिङ) गर्ने प्रमूख भूमिकामा छिन् उनी ।

जोखिमांकन जीवन बीमा व्यवसायको एक महत्वपूर्ण कार्य हो । बीमा मार्फत अवान्छित लाभ प्राप्त गर्नबाट बचाउन र बीमालाई जुवाबाट भिन्न राख्न जोखिमांकनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसैले जीवन बीमाको मूलभूत सिद्धान्तको कार्यान्वयन असल अण्डरराईटिङ अभ्यासबाट मात्र सम्भव हुन्छ । जुन कार्यमा सुलक्षणा निपुर्ण छिन् ।

नेपाल लाइफ सुरु गर्दाको बखत नै तराईदेखि पोखरासम्मको परिवेशलाई नजिकबाट नियाल्न पाएकी सुलक्षणाले नेपाल लाइफको रजिष्टर्ड कार्यालय, वीरगञ्जबाट आफ्नो करियर सुरु गरेकी हुन् । उनको पहिलो पोष्टिङ वीरगञ्जमा भयो । अन्तरवार्ताकोे क्रममै उनको स्पष्टता र कामप्रतिको इमान्दारिता संस्थाले बुझिसकेको थियो । त्यहि हुनाले उनलाई त्यो जागिर मिलेको हो ।

वीरगञ्जमा काम गर्दा भाषा नबुझेर थोरै अप्ठ्यारो परिस्थिति पनि उनले सामना गर्नुपर्यो । तर, पनि उनले हरेस खाइनन् अझ दृढता र महेनतका साथ आफ्नो जागिरे यात्रालाई अघि बढाइन् । कार्यालयले वीरगञ्ज पठाउँदा तिमी त्यहाँ बस्ने कुरा तिम्रो पर्फमेन्समा भर पर्छ भनेर पठाएको थियो ।

जति वर्ष वा महिना पनि हुन सक्छ भनेर वीरगञ्ज पठाइएकी उनले आफ्नो जिम्मा आएको काम २ महिनामै चमत्कारिक हिसाबले पुरा गरेर देखाइन् र उनलाई काठमाडौं डाकियो ।

वीरगञ्जबाट फर्केपछि उनले केहि वर्ष प्रधान कार्यालयको प्रशासनिक कार्यमा र केही वर्ष काठमाडौं शाखा कार्यालयमा काम गरिन् । त्यसपछि उनलाई पोखरामा सरुवा गरियो । त्यहि बसेर काम गर्दा गर्दै उनको डेलिभरीको समय आईसकेको थियो । सायद त्यो देखेर होला उनलाई काठमाडौं सरुवा गरियो । त्यति बेला उनले आफू कार्यरत संस्थाले आफूलाई ठूलो सहयोग गरेको महसुुस गरिन् किनकी उनका आफन्त सबै काठमाडौं थिए ।

त्यस्तो बेलामा आफन्तसँग बस्ने चाँजोपाँजो पनि उनलाई अफिसले मिलाइ दियो । यसका लागि आफू आभारी भएको उनले बताइन् । काठमाडौं आएपछि उनले लाइसेन्स विभागमा बसेर काम गरिन् । नियामक निकायसँग दैनिकजसो सम्पर्कमा रहुन पथ्र्यो । तत्पश्चात प्रधान कार्यालयको मानव संशोधन विभागमा कार्य गर्ने अवसर मिल्यो ।

यद्यपि उनलाई भने बीमा क्षेत्रमा काम गर्दा गर्दै कोर बीमा क्षेत्रमा भिजेर काम गर्न पाए हुन्थ्यो भन्ने लागिसकेको थियो । उनको त्यो इच्छा बुझे जसरी नै कोर बीमा क्षेत्रको अन्डरराइटिङ विभागका सरुवा गरियो दोस्रो वरियताका रुपमा ।
उनले त्यसलाई चुनौती र अवसर दुबैको रुपमा ग्रहण गरिन् । बीमा क्षेत्रमा यति लामो समय गरेको कामको अनुभवलाई अण्डरराईटिङ (जोखिमांकन) कामबाट सन्तुष्ट रही आफूलाई प्रमाणित गर्ने अवसर मिल्न पुग्यो उनलाई ।

उनलाई अन्डरराइटिङकोे दोस्रो वरियताको रुपमा सरुवा गर्दा केहि पनि पत्तो थिएन । यस सम्बन्धी डकुमेन्टहरू कहाँ कसरी छन् भनेर । उनीभन्दा अगाडि सोही काम गर्ने साथीबाट कामका विषयमा ‘ह्याण्ड ओभर’ गरेर उनले ‘टेक ओभर’ गरेकी होइनन् । तत्काल जिम्मेवारी सम्हाल्नु पर्ने परिस्थिति सृजना भयो । असार महिनामा तीव्र व्यवसाय विस्तार गर्नुपर्ने अवस्थामा एक्कासी आएको जिम्मेवारीलाई सहजताका साथ पार गर्न सफल भईन । त्यो काम त्यति सहज थिएन । उनले साथीले काम गर्दै गरेको ल्यापटप समातेर अण्डरराइटिङको काम थालेकी हुन् ।

त्यो सँगै च्यालेन्ज जसरी पनि फेस गर्नु पर्छ भन्ने उनले सिकिन् । चुनौती फेस गर्न सकेमात्र सफलताको सिंढी उक्लन सहज हुन्छ भन्ने कुरा उनले राम्ररी बुझेकी थिइन् । अहिले उनले यो विभागमा काम गरेको ५ वर्ष भइसकेको छ । थप जिम्मेवारीका साथ विभागीय प्रमुख भएर काम गरेको भने करिब २ वर्ष पुग्न लाग्यो ।

अहिले उनी ३ जनाले गरेको कामको भेरिफिकेशन गर्छिन् आवश्यकता अनुसार सल्लाह, सुझाव र मार्गदर्शन गर्छिन् । परिवारमैत्री वातावरणमा काम गर्दै आएकी उनको डिपार्ट सबै महिलाले नै धानेको छ । जीवन बीमाको महत्वपूर्ण विभागमा विभागीय प्रमुख सहित सम्पूर्ण सहकर्मीहरू महिला रहेकोमा आफूलाई गर्व लागेको बताउँछिन् । उनी बीमा व्यवसायको क्षेत्रमा भित्रसम्म पुगेर महत्वपूर्ण काम गर्न चाहन्थिन् । यो अवधिसम्म जुन जुन डिपार्टमा बसेर काम गरिन् यी सबैबाट उनले उत्तिकै ज्ञान र सन्तुष्टि हासिल गरिन् ।

काठमाडौं स्वयम्भूको आनन्द कुटी विद्यापीठबाट प्रवेशिका परीक्षा उत्र्तीण गरेकी उनले तहाचल होलीभिजनबाट प्लस टू गरेकी हुन् । काठमाडौंमा जन्मेकी अधिकारीको स्कूले शिक्षा बाबु कार्यरत सोही विद्यापीठबाट सम्पन्न गरिन् । बी.बी.एस. डिल्लीबजार कन्या क्याम्पसबाट र माष्टर शंकरदेव कलेजबाट गरेकी हुन् ।

शंकरदेवमा पढ्दै गर्दा पार्ट टाइम कामको रुपमा नेपाल वान टेलिभिजनमा कार्यक्रम सञ्चालिकाको रुपमा काम गरेकी थिइन् । त्यसअघि उनले नेप्टेल एल्लो पेज नामक कम्पनीमा दुई वर्ष काम गरिन् र त्यसपछि नेपाल लाइफको यात्रा सुरु भएको हो । उनी यहिबाट आफ्नो जीवनलाई सार्थक बनाउन चाहन्छिन् र त नि उनी कार्यालयको काम र परिवारको जिम्मेवारीलाई सन्तुलनमा राख्न सफल भएकीछिन् । महिला भएको नाताले घरमा पनि उनको जिम्मेवारी कम छैन । घरमा एक असल आमा तथा श्रीमती र कार्यालयमा कुशल विभागीय प्रमुखको भूमिकामा उत्तिकै जम्नको लागि उनले सोही अनुसार समयको व्यवस्थापन गरेकी छिन् ।

१७ वर्षअघि नेपाल लाइफ प्रवेश गरेकी सुलक्षणाको कार्यालयमै मन मिल्ने जीवन साथी भेट भयो । जागिरमा प्रवेश गरेपछि दुबैले एक अर्कालाई मन पराए र विवाह बन्धनमा बाँधिए । उनीहरूको १३ वर्षको एउटा छोरा छ ।

 

 

हेडलाइन्स