क्रस होल्डिङ भएका बीमा कम्पनीलाई ७ दिनभित्र अवधारणा पेश गर्न समितिले काट्यो पत्र, कसको कुन कम्पनीसँग कति क्रस होल्डिङ

काठमाडौं । बीमा समितिले क्रस होल्डिङ भएका कम्पनीहरूलाई पत्र काटेको छ । समितिले क्रस होल्डिङ भएका कम्पनीबाट यस्तो सेयर हटाउनको लागि उनीहरूको राय तथा अवधारणा माग गरेर पत्र काटेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । समितिले बीमा कम्पनीहरूलाई पत्र लेखेर एक साताभित्र अवधारणा पेश गर्न भनेको छ । तर, अहिलेसम्म कुनै कम्पनीको पनि सेयर यस विषयमा अवधारणा आएको छैन ।

यहि असोज ४ गते क्रस होल्डिङलाई आधार मानेर बीमा समितिले शिखर, आईएमई, सगरमाथा जनरल, युनाइटेड, अजोड, लुम्बिनी जनरल, रिलायबल लाइफ, एशियन लाइफलगायतका कम्पनीलाई पत्र काटेको हो ।
‘यी कम्पनीमा ७ वटा लगानीकर्ता संस्था तथा व्यक्तिको क्रस होल्डिङ भेटपछि सेयर व्यवस्थापन गर्न समितिले सम्बन्धित कम्पनीलाई पत्र काटेको हो,’ कार्यकारी निर्देशक पौडेलले भने ।

बीमा क्षेत्रमा एकै व्यक्ति, संस्था तथा समूहको एकाधिकार घटाइ स्वच्छ र प्रतिष्पर्धात्मक व्यवसाय गराउने उद्देश्यले समितिले क्रस होल्डिङ घटाउन खोजेको पत्रमा उल्लेख गरिएको छ । बीमा समितिले काटेको पत्रमा कम्पनीहरुमा ७ वटा लगानीकर्ता संस्था तथा व्यक्तिको साढे १ प्रतिशतदेखि ३२ प्रतिशतसम्मको क्रस होल्डिङ भएको जनाइएको छ ।

क्रस होल्डिङ भएका कम्पनीहरुले संस्थापक सेयर व्यवस्थापन गरिसक्न निर्देशन दिइसकिएको समितिले बताएको छ । यसमा मर्जर तथा प्राप्तीलाई समितिले पहिलो प्राथमिकतामा राखेको छ ।

समितिले संस्थापक सेयर कारोबार निर्देशिकाको दफा ५ र ६लार्य आधार मानिएको छ । व्यक्ति, एकाघर परिवार, संगठित संस्था तथा समूहले एउटा बीमा कम्पनीमा लगानी गर्दा चुक्ता पुँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउँछ । तर, एक कम्पनीमा लगानी गरिसकाले सोही प्रकारको व्यवसाय गर्ने अर्को कम्पनीमा १ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था गरिएको छ ।

तर, समितिले क्रस होल्डिङ प्रयोजनार्थ कम्पनीहरुको संस्थापक सेयरधनी र उनीहरुको लगानीको अध्ययन गर्दा निर्देशनले तोकेकोभन्दा बढी लगानी १३ वटा कम्पनीमा एकाघर परिवार, व्यक्ति, समुह तथा संस्थाको पाइएको हो ।

यी कम्पनीमा छन् क्रस होल्डिङ

विशाल गु्रपले नेपाल लाइफ इन्स्योरेन्समा १५ प्रतिशत, एलआईसी नेपाल इन्स्योरेन्समा २५ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्समा ३२ प्रतिशत लगानी गरको छ ।

सनराइज बैंकले सगरमाथा जनरल इन्स्योरेन्समा ४.५ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्समा १.५ प्रतिशत लगानी गरको छ ।
चन्द्र ढकालले आफ्नो आईएमई गू्रपको नाममा रिलायबल लाइफ इन्स्योरेन्समा १० प्रतिशत र आईएमई लाइफ इन्स्योरेन्समा २२ प्रतिशत सेयर लगानी गरेको समितिले जानकारी दिएको छ ।

कुमारी बैंकले जनरल इन्स्योरेन्स कर्पोरेसनमा ५ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्समा १.५ प्रतिशत लगानी गरेको छ ।

समिति स्रोतकाअनुसार हाथवे इन्भेस्मेन्टले अजोड इन्स्योरेन्समा १.५ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्समा ३.५२ प्रतिशत लगानी गरेको छ ।
क्रस होल्डिङ रहेका कम्पनीहरूमा शशीकान्त अग्रवालको शिखर इन्स्योरेन्समा १६ प्रतिशत र युनाइटेड इन्स्योरेन्समा ३ प्रतिशत लगानी रहेको छ ।

पवन गोल्यानका बुवा वासुदेव गोल्यानका नाममा एशियन लाइफ इन्स्योरेन्समा ७.५ प्रतिशत र नेपाल लाइफ इन्स्योरेज्समा ६.५ प्रतिशत लगानी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स