काठमाडौं । देशमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले चैतमसान्तसम्म ३० अर्ब रुपैयाँ प्रिमियम वापत उठाएका छन् । बीमा कम्पनीहरूले २१ लाख ६६ हजार ३२८ बीमा पोलिसी बिक्री गरेर सो बीमा शुल्क आर्जन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरूले चैत महिनामा मात्रै ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरूले चैत महिनामा २ लाख ८९ हजार ८८३ वटा बीमा लेख जारी गरेर सो शुल्क आर्जन गरेका हुन् ।
सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ८१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३८ करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षको यो अवधिसम्म यी दुई कम्पनीको बीमा शुल्क क्रमशः ४ अर्ब १५ करोड ४८ लाख र २ अर्ब २९ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
तेस्रोमा धेरै प्रिमियम कलेक्सन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । सो कम्पनीले चैत महिनामा ३७ करोड ७४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यी दुई कम्पनी पनि एक आपसमा मर्ज भएका हुन् ।
साविक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार गरेपछि सो कम्पनीले पनि चैत महिनामा मात्रै ३६ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
नेको इन्स्योरेन्सले २८ करोड ४४ लाख, सानिमा जीआईसी इन्स्योरेन्सले २३ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्सले २२ करोड ४३ लाख, आइएमई जनरल इन्स्योरेन्सले २१ करोड १८ लाख, अजोड इन्स्योरेन्सले २० करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले १८ करोड ५६ लाख, युनाइटेड इन्स्योरेन्सले १६ करोड ८४ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले १४ करोड ९२ लाख, ओरियन्टल इन्स्योरेन्सले १४ करोड २४ लाख, नेपाल इन्स्योरेन्सले १४ करोड ७२ लाख, प्रभु इन्स्योरेन्सले १२ करोड ८५ लाख र नेशनल इन्स्योरेन्सले ११ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।