काठमाडौं । देशमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले भदौ महिनामा २ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । भदौसम्म २० वटा बीमा कम्पनीले कुल ६ अर्ब ४० बीमा शुल्क आर्जन गरेको बीमा समितिले जानकारी दिएको छ ।
बीमा कम्पनीहरूले ४ लाख ७३ हजार २६४ वटा बीमालेख जारी गरेर सो शुल्कआर्जन गरेका हुन् । साउनमामात्रै बीमा कम्पनीहरू २ लाख २६ हजार १९६ वटा बीमा लेख जारी गरेको बीमा समितिले जानकारी दिएको छ ।
२० वटा निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी व्यवसाय शिखर इन्स्योरेन्सले गरेको छ । शिखर इन्स्योरेन्सले भदौ महिनामा ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सोसहित भदौसम्म शिखर इन्स्योरेन्सले ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीले ४९ हजार ४ सयवटा बीमा लेख जारी गरेर सो शुल्क आर्जन गरेको समितिको तथ्यांकले देखाएको छ ।
शिखरपछि बीमा बीमा शुल्क आर्जन गर्ने दोस्रो कम्पनीमा नेको इन्स्योरेन्स परेको छ । कम्पनीले भदौ महिनामामात्रै २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । भदौ महिनामा कम्पनीले २५ हजार ४८४ वटा बीमालेख जारी गरेको छ । भदौसम्म कम्पनीको कुल हजार ९३६ वटा बीमालेख जारी गरेर ५२ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यसरी नै बढी बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनीमा सगरमाथा इन्स्योरेन्स परेको छ । कम्पनीले भदौ महिनामा २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । सगरमाथाले भदौमामात्रै २० हजार ६६ वटा बीमालेख जारी गरेको छ । भदौसम्म उक्त कम्पनीले ४२ हजार ४७ वटा बीमालेख जारी गरेर ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीका साथै अन्य कम्पनीहरूले पनि भदौमा बीमा शुल्क बढाएका छन् ।