लघुबीमा निर्देशन, २०७९ जारी, निर्जीवन बीमाले ५० लाख र जीवन बीमाले ५ लाख भन्दा कम बिमांक रकम भएको व्यवसाय गर्न पाउने

के के छ निर्देशनमा ?(पूर्णपाठसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको छ । प्राधिकरणले कम्पनीको व्यवसायको सीमासहित निर्देशन जारी गरेको हो । लघुबीमा व्यवसायको विकास, प्रवर्धन तथा व्यवस्थापन गरी बीमामार्फत न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जारी गरेको लघुबीमा निर्देशनमा लघु निर्जीवन बीमा कम्पनीले ५० लाख रुपैयाँ बीमांकसम्मको बीमा गर्न पाउने छन् भने लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँभन्दा कम बीमांक भएको बीमा गर्न पाउने उल्लेख गरिएको छ ।

लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा र इन्जिनियरिङ लघुबीमाको सीमा ५० लाख रुपैयाँ बीमांक तोकिएको छ । दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघुबीमाको सीमा ५ लाख रुपैयाँ निर्धारण गरेको छ ।

लघु जीवन बीमा व्यवसाय गर्ने बीमक कम्पनीले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमामध्ये कुनै एक वा एक भन्दा बढी प्रकारका बीमा व्यवसाय गर्न सक्नेछन् ।

जीवन लघुबीमालेखको हकमा एक वर्ष वा त्यसभन्दा बढी अवधिको र निर्जीवन लघुबीमालेखको हकमा एक वर्ष वा त्यसभन्दा कम अवधिका लागि मात्रै बीमा लेख जारी गर्न पाउने व्यवस्था प्राधिकरणले निर्देशनमार्फत गराएको छ ।

कहिले पाए लाइसेन्स र कति चाहिन्छ पुँजी ?

प्राधिकरणले मंसिर ११ गते सातवटा कम्पनीलाई लघुबीमाको व्यवसाय गर्ने अनुमति दिएको थियो । यी कम्पनीलाई प्राधिकरणले मापदण्डअनुसार ७५ करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म ४ वटा कम्पनीले मात्रै पुँजी जुटाएका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पुँजी जुटाएका हुन् ।

पुँजी जुटाएका गार्डीयन माइक्रो र नेपाल माइक्रोलाई प्राधिकरणले हिजो आइतबार लाइसेन्स दिने निर्णय गरेको छ । पुँजी जुटाउन नसकेका ३ वटालाई ४५ दिनको समय थप गरिएको छ

२१ दिनभित्र भुक्तानी दिनुपर्ने

बीमकले आफूसमक्ष परेको लघुबीमा दाबीको तत्काल छानबिन गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनु पर्नेछ । बीमकले दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त भएको बढीमा २१ दिनभित्र दायित्व यकिन गरी भुक्तानी गर्नुपर्नेछ । दाबी भुक्तानी सम्बन्धी कुनै विवाद उत्पन्न भएका प्राधिकरणमा ३५ दिनभित्र लिखित उजुरीसमेत गर्न सकिनेछ ।

को हुन लघु बीमाका लक्षित वर्ग ?

लघु बीमा निर्देशनअनुसार गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तकृत समुदायलाई लक्षित गरी बीमकले लघुबीमा गर्नुपर्नेछ । लघु बीमा पनि छुट्टाछुट्टै गर्नुपर्नेछ । लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले लघु जीवन बीमा र लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले लघु निर्जीवन बीमा व्यवसाय गर्नुपर्नेछ ।

लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमामध्ये कुनै एक वा एक भन्दा बढी प्रकारका बीमा व्यवसाय गर्न सक्नेछन् भने लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा, मोरट लघुबीमा, इन्जिनियरिङ लघुबीमा, दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघु निर्जीवन बीमामध्ये एक वा एक भन्दा कम अवधिको बीमा व्यवसाय गर्नुपर्नेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/लघुबीमा-निर्देशन-2079.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स